इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले गत साता मोल्डोभानमा युरोपा लिग फुटबल प्रतियोगितामा सहभागिता जनाएको थियो । प्रतिस्पर्धामा सान्चो तथा क्रिस्टियानो रोनाल्डोका गोलको सहयोगमा युनाइटेडले २–० को बाजी मारेको थियो । युरोपा लिगमा उत्कृष्ट सुरुवात गरेको युनाइटेड समस्यामा छ । युरोपा लिगबाट फर्केपछि युनाइटेडका खेलाडी तथा स्टाफहरूलाई ‘फुड प्वाइजन’ भएको छ । खेलाडी तथा स्टाफलाई माल्डोभा सहर वा हवाईजहाजको खानाले फुड प्वाइजन भएको आशंका गरेको छ ।
१२ खेलाडी तथा केही स्टाफ फुड प्वाइजनबाट ग्रसित भएका छन् । ‘खेलाडी तथा स्टाफलाई कुन खानाबाट फुड प्वाइजन भएको भन्ने थाहा पाउन सकेको छैन,’ युनाइटेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्भवतः होटेल वा हवाईजहाजको खानाले यस्तो भएको हुन सक्छ, हामी यसको अध्ययन गरिरहेका छौँ ।’ टोलीका मुख्य खेलाडीहरू बिरामी परेका कारणले युनाइटेडले प्रशिक्षण एक साता पछाडि सारेको छ । अर्को साता युनाइटेडले लिड्सको सामना गर्दै छ ।

प्रशिक्षक टेन हागको प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिगमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ । युनाइटेड ६ मध्ये पाँच खेलमा विजयी भएको छ । जसमा युनाइटेडले लिभरपुल तथा पाँच खेलसम्म अपराजित रहेको आर्सनलमाथि सानदार जित निकालेको थियो । युनाइटेडले दुई अक्टोबरमा साबिक विजेता म्यानचेस्टर सिटीको सामना गर्नेछ ।



