सप्तरी । प्रायः भूमिहीन सुकुम्बासीको रुपमा रहेका दलित समुदायका हरवा चरवा मजदूरहरुको रोजगार र रोजगारदाता छनौट गर्ने स्वतन्त्रता बढाउन बैकल्पिक रोजगारी र आयआर्जनमार्फत आर्थिक सवलीकरणमा जोड दिइएको छ ।
सप्तरीको छिन्नमस्ता र विष्णुपुर गाउँपालिकामा छुट्टाछुट्टै रुपमा आयोजित पालिका स्तरीय ‘हरवा चरवा मजदूरहरुको रोजगार र रोजगारदाता छनौट गर्ने स्वतन्त्रता बढाउन उनीहरुको जागरुकता अभियान’ कार्यक्रममा सहभागी जनप्रतिनिधि र सरोकारवालाहरुले परम्परागत खेती प्रणाली भत्किंदै कृषि उपकरणमार्फत खेती गर्न थालिएकाले हरवा चरवा मजदूरहरुको बैकल्पिक रोजगारी र आयआर्जनका काम गरिनु पर्ने औंल्याए । आर्थिक र सामाजिक रुपले गरिबी, अभावमा बाँचिरहेकाले उनीहरु सामान्य घरायसी कामका लागि समेत गाउँका गिरहत मालिकबाट ऋण लिनुपर्ने बाध्तामा रहेको र त्यही ऋणको चङ्गुलमा पुस्तौं पुस्तासम्म फसेकाले उनीहरुको काम गर्ने स्वतन्त्रता समेत खोसिएको बताए ।

कार्यक्रममा न्यायिक समितिकी संयोजक समेत रहेकी गाउँपालिका उपाधयक्ष राजुदेवी यादवले महिला अगाडि बढ्न पुरुषको पनि भूमिका रहने चर्चा गर्दै आफ्नो अधिकारका लागि स्वयम् अगाडि बढ्न आग्रह गरिन् । ‘गाउँ बस्ती लक्षित कार्यक्रमहरु गरौं’ उनले भनिन् ‘हवा चरवा कृषि मजदूरहरुका लागि पालिकाले पनि स्रोतले भ्याएसम्म बजेटसहित योजना बनाउँछ ।’
छिन्नमस्ता गाउँपालिका ६ का वडाधयक्ष कपलेश्वर साहले मजदूरी गरेर परिवारको जीविका चलाउँदै आएका हरवा चरवा कृषि मजदूरहरुलाई सचेत र अधिकारको विषयमा बुझाउन यस्तो खालका कार्यक्रम प्रभावकारी हुने औंल्याए । ‘संघीय सरकारले तोकेको ज्याल दिन तयषर छौं’ उनले भने ‘तर काम गराउनेलाई पनि ज्याला अनुसारको काम गरेर दिनु पर्यो नि’ उनले भने ‘प्रायः खेती गर्ने बेलामा मा काममा लगाइने कृषि मजदूरहरुको काम कृषि उपकरणको बढ्दो प्रयोगले खोस्दै गएकाले बैकल्पिक जीविकोपार्जन सम्बन्धी काम गर्न जरुरी देखेको छु ।’ त्यसका लागि थोरै लगानीका घरेलु उद्योग स्थापान गरी संचालनको योजना बनाउन आग्रह गर्दै उनले पालिका र वडा कार्यालयल पनि त्यसमा सघाउने उल्लेख गरे ।

गाउँपालिकाका सल्लाहकार तेजनारायण यादवले गाउँपालिकाको रोजगार शाखाले खालेका बेरोजगार सूचीमा सामेल हुन हरवा चरवाहरु छुटेको बताए । ‘त्यस्तो समयमा फर्म भरेको भए कम्तिमा पालिकाकले स्थानीय श्रमिक परिचालन गरी संचालन गर्ने विभिन्न योजनाका कामहरुमा सहभागी हुने अवसर त छुट्दैनथ्यो’ उनले भने ‘तथापि रोजगार शाखामा आएको १० लाख रुपैयाँ बजेट छ, हरवा चरवा महिला कृषक समूहले सामूहिक लसुन खेतीका लागि प्रस्तावनासहित निवेदन दिए त्यसको लागि सहजीकरण गरिदिन सक्छौं ।’ हरवा चरवाहरुले सामूहिक रुपमा उत्पादन गरेको लसुन बिक्री गर्न पालिकाले नै बजारीकरणका लागि पहल गरिदिने उनको धारणा थियो ।
हरवा चरवा कृषि श्रमिक तथा आश्रित परिवारलाई श्रम अधिकार सम्बन्धी जानकारी दिंदै उनीहरुको रोजगारी, रोजगारदाता छनौटका लागि मानवअधिकार, संवैधानिक तथा कानुनी अधिकार, आर्थिक तथा श्रम शोषण, जातीय छुवाछूत र भेद्भाव विरुद्ध कानुनी व्यवस्था लगायतका विषयमा जागरुक गर्न द फ्रिडम फण्डको सहयोगमा लहानस्थित दलित जनकल्याण युवा क्लवद्वारा आयोजित कार्यक्रममा हरवा चरवा अधिकार मञ्चका केन्द्रीय महासचिव लागिन्द्र सदाले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उदेश्यको विषयमा प्रष्ट्याएका थिए । मञ्चका जिल्ला अध्यक्ष देवलाल रामको अध्यक्षता र आशा विश्वकर्माको उद्घोषणमा सम्पन्न कार्यक्रमको दोस्रो सत्रमा अधिवक्ता ध्रुव मण्डल तथा पत्रकार मणिलाल विश्वकर्माले हरवा चरवा तथा कृषि मजदूर सम्बन्धी संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्था, स्थानीय सरकार संचालन ऐन, निःशुल्क कानुनी प्रकृया र निकाय, भूमिहीनता र आवास सम्बन्धी व्यवस्थाका लागि नीतिगत र कानुनी व्यवस्था, हरवा चरवाले गर्नुपर्ने काम लगायतका बारेमा बिस्तृत छलफल चलाएका थिए ।
त्यस्तै, विष्णुपुर गाउँपालिका ३ मुसहर्नियाँमा आयोजित कार्यक्रममा विष्णुपुर ३ का वडाध्यक्ष राजेन्द्र प्रसाद सदायले हरवा चरवा, कृषि मजदूरहरुको हक अधिकारका लागि वडा कार्यालयले पनि काम गरिरहेको बताए । प्रायः असुरक्षित बसोवास र सेवा सुविधाबाट बञ्चित दलित समुदायका हरवा चरवाको मानवीय विकास, सामाजिक विकासका लागि वडा कार्यालयले पनि काम गरिरहेको जानकारी दिंदै उनले भने ‘शिक्षा, स्वास्थ्य, रोजगारी,सुरक्षित बसोवासका लागि सामाजिक संघ संस्थाहरुको समन्वयमा काम गर्दैछौं ।’
विष्णुपुर गाउँपालिका ४ कनकट्टाका पूर्व वडाध्यक्ष दिनेशकुमार यादवले अफू पूर्व जनप्रतिनिधि भएपनि आफ्नो वडा क्षेत्रमा रहेका दलित, हरवा चरवाको हक अधिकारको लागि लडिरहेको बताए । ‘हरवा चरवाको उठीबास विरुद्ध सधैं लड्दै आएको छु’ उनले भने ‘उनीहरुको सामाजिक अधिकारका लागि लड्नु पर्ने र बोल्नु पर्ने ठाउँमा सदैव सँगसँगै रहने छु ।’



