सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहास्थित कमला नदीमा नुहाउने क्रममा चार दिनअघि बेपत्ता भएका एक चालकको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ का करिब ४५ वर्षीय गोविन्दराज दुलाल शनिबार बिहान करिब ९ः५५ बजे कमला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । भोक्राहामा पक्की पुल निर्माण गरिरहेको इलाइट कन्स्ट्रक्सन काठमाडौंमा उनी सवारी चालकका रूपमा कार्यरत रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
दुलाल बेपत्ता भएको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कल्याणपुरबाट विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त सुरक्षाकर्मीसहितको टोली परिचालन गरी खोजी सुरु गरिएको थियो । घटनाकै दिन २२ जना सुरक्षाकर्मी खोजी तथा उद्धारमा खटिएका थिए ।
त्यसपछि खोजीलाई निरन्तरता दिँदै आइतबार र सोमबार ४२–४२ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीले कमला नदी तथा आसपासका सम्भावित स्थानमा खोजी गरे पनि दुलाल फेला पर्न सकेका थिएनन् ।
निरन्तरको खोजीपछि सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट मंगलबार सात सदस्यीय गोताखोर टोली झिकाइएको छ । सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा आएको गोताखोर टोली र सुरक्षा बेस कल्याणपुरबाट परिचालित २० जनाको संयुक्त टोलीले मंगलबार दिउँसो ३ः४० बजेदेखि नदीमा खोजी तथा उद्धार कार्य सुरु गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय