सिरहा । आर्थिक वर्ष सुरु भएको दुई महिनापछि सिरहा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा ‘रातो किताब’ सार्वजनिक गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब ३२ करोड १७ लाख ८९ हजार २९ रुपैयाँ बराबरको बजेट विनियोजन गरेको जनाएको छ।
सार्वजनिक गरिएको रातो किताबमा चालु तथा पुँजीगत प्रकृतिका कार्यक्रमसँगै वडा कार्यालय सञ्चालन, सडक–नाला, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास तथा पूर्वाधार निर्माणका विभिन्न योजना समेटिएका छन्।

तर बजेट सार्वजनिकसँगै नगरपालिकाको आन्तरिक स्रोततर्फको वित्तीय दायित्वसमेत देखिएको छ। नगरपालिकाका अनुसार ५४७ वटा योजनाको करिब २२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ। उक्त रकम आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ।
भुक्तानी दिन बाँकी ठूलो रकमका कारण चालु आर्थिक वर्षका नयाँ योजना कार्यान्वयनसँगै पुरानो दायित्व व्यवस्थापन नगरपालिकाका लागि चुनौती बन्ने देखिएको छ। ५४७ योजनामध्ये कुन–कुन योजना सम्पन्न भइसकेका छन्, कति योजनाको काम प्रगतिमा छ र कति योजनाको भुक्तानी कुन कारणले रोकिएको हो भन्ने विषयमा समेत चासो बढेको छ।
रातो किताबअनुसार नगरपालिकाको नियमित प्रशासनिक खर्चतर्फ कर्मचारीको पारिश्रमिक, पोशाक, औषधिउपचार, स्थानीय तथा महँगी भत्ता, बैठक भत्ता, प्रोत्साहन तथा पुरस्कारलगायतका शीर्षकमा रकम छुट्याइएको छ। कर्मचारीको सामाजिक सुरक्षा कोष, योगदानमा आधारित निवृत्तिभरण तथा अन्य सुविधाका लागि समेत बजेट राखिएको छ।



