सिरहा । सिरहामा भएको गोलीकाण्डबारे गठित छानबिन समितिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमेतलाई कारबाहीका लागि सिफारिस गरेको विवरण सार्वजनिक भएपछि गृह मन्त्रालयले उनलाई सिरहाबाट फिर्ता बोलाएको छ । मन्त्रालय तानिएपछि पौडेललाई हाल अतिरिक्त समूहमा राखिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गृहमन्त्री सुधन गुरुङस्तरीय निर्णयबाट पौडेललाई मन्त्रालयमा तानिएको हो । उनलाई तत्काल कुनै जिम्मेवारी नदिई मन्त्रालयको अतिरिक्त समूहमा राखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

सिरहाबाट विदाइ हुने क्रममा जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कर्मचारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए । सहभागीहरूले पौडेलको कार्यकालको स्मरण गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना दिएका थिए ।
पौडेलले २०८२ कात्तिक १९ गतेदेखि सिरहाको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

गोलीकाण्डको छानबिनमा पौडेलको भूमिकामाथि प्रश्न
सिरहाको गोलबजारमा भएको गोलीकाण्डको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव पुष्पराज शाहीको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले घटनाको सुरक्षा परिचालन, बल प्रयोग, गोली चलेको अवस्था तथा सम्बन्धित अधिकारीहरूको भूमिकालगायत विषय अध्ययन गरी प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनले सिरहा घटनामा प्रमुख जिल्ला अधिकारी पौडेलसहित जिल्ला प्रहरी प्रमुख बासुदेव पाठक, डीएसपी रमेश पाल र इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन प्रहरी निरीक्षक सुदन केसीमाथि विभागीय कारबाहीका लागि सिफारिस गरेको विवरण सार्वजनिक भएको छ ।

छानबिन समितिको निष्कर्षअनुसार गोलबजार घटनामा सुरक्षाकर्मीले चलाएको गोलीबाट गणेश यादवको मृत्यु भएको र घटनास्थलमा गोली चलेको विषयमा सुरक्षा परिचालन तथा कमान्ड संरचनाको समेत अध्ययन गरिएको थियो ।
समितिको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । त्यसैले पौडेलसहितका अधिकारीमाथि सिफारिस गरिएको कारबाहीको विस्तृत आधार र प्रकृति भने सार्वजनिक विवरणबाट पूर्ण रूपमा स्पष्ट भएको छैन ।

सिरहामा नयाँ सीडीओ पठाउने तयारी
पौडेललाई गृह मन्त्रालय तानेसँगै सिरहामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाउने तयारीसमेत अघि बढाइएको छ । त्यसका लागि उपयुक्त सहसचिवको खोजी भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

यसैबीच गृह मन्त्रालयले सहसचिव सुरेश पन्थीलाई कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी दिएको छ । पन्थीले यसअघि विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा सम्हाल्दै आएका थिए । उनको पुरानो जिम्मेवारी अर्का सहसचिवलाई दिने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

पछिल्लो पटक गृह मन्त्रालयमा सरुवा भएर आएका सहसचिव एकदेव अधिकारी र मोतिराम सापकोटाले पनि हालसम्म जिम्मेवारी पाएका छैनन् । मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेरसँगै विभिन्न महाशाखा तथा प्रमुख जिल्ला अधिकारीहरूको व्यवस्थापनमा थप फेरबदलको तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय