‘हातमा हात, खेलको साथ; शौर्य परिवार एकताको साथ’ नारासहित आयोजित प्रतियोगितामा स्टोर टोली उपविजेता
सिरहा । ‘हातमा हात, खेलको साथ; शौर्य परिवार एकताको साथ’ भन्ने नारासहित शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आयोजना गरेको अन्तरविभागीय भलिबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।
कर्मचारीबीच आपसी सद्भाव, एकता, अनुशासन, खेल भावना तथा सामूहिक कार्य संस्कृतिको विकास गर्ने उद्देश्यले कम्पनी परिसरमा आयोजित प्रतियोगिताको फाइनलमा सुरक्षा टोलीले स्टोर टोलीलाई पराजित गर्दै उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा सुरक्षा टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ । फाइनल खेल कम्पनीका कर्मचारी तथा व्यवस्थापन टोलीको उपस्थितिमा सम्पन्न भएको थियो । प्रतियोगिताभर विभिन्न विभागका कर्मचारीको उत्साहजनक सहभागिता र दर्शकको समर्थनले कम्पनी परिसर खेलमय बनेको थियो ।
कर्मचारीबीच विभागीय सीमाभन्दा माथि उठेर आपसी सम्बन्ध, सहकार्य र समूहगत भावना विकास गर्नुका साथै शारीरिक तन्दुरुस्ती तथा कर्मचारीमा रहेको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ ।
प्रतियोगिताको सफल आयोजनामा कम्पनीका प्रमुख सञ्चालन अधिकृत तथा आवासीय निर्देशक ऋषि लोहिया र वरिष्ठ उपाध्यक्ष जीवन नेपालको सहयोग तथा प्रोत्साहन महत्त्वपूर्ण रहेको कम्पनीले उल्लेख गरेको छ ।
प्रतियोगिताले कर्मचारीबीच आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्नुका साथै कार्यस्थलमा सकारात्मक वातावरण निर्माण गर्न खेलकुदको भूमिकालाई उजागर गरेको कम्पनीको विश्वास छ ।
कम्पनीले प्रतियोगितामा विजयी सुरक्षा टोलीलाई बधाई दिँदै उत्कृष्ट प्रतिस्पर्धा गर्ने स्टोर टोलीसहित सहभागी सबै विभागका कर्मचारीप्रति धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय