काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाइ भेट गरेका छन् ।

सोमबार भएको भेटमा सभामुख अर्यालले सफल कार्यकाल पूरा गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई तथा शुभकामना दिँदै नेपाल–भारत द्विपक्षीय सम्बन्ध र सहकार्य सुदृढ बनाउन उनले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी विपद्का क्रममा भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे । भारतीय वायुसेनाका विमानमार्फत राहत तथा उद्धार सामग्री ल्याउनुका साथै सुरुङ उद्धारका लागि विशेषज्ञ टोली र फरेन्सिक विज्ञसहितको प्राविधिक सहयोग उपलब्ध गराइएको उनले स्मरण गरे ।

विपद्को कठिन समयमा भारतबाट प्राप्त सहयोगले नेपाल–भारतबीचको मैत्री, सद्भाव, ऐक्यबद्धता र सहकार्यलाई थप प्रतिबिम्बित गरेको सभामुख अर्यालले बताए ।

भेटमा नयाँ प्रतिनिधिसभा गठनपछि बनेको नेपाल–भारत संसदीय मैत्री समूह तथा त्यसमार्फत अघि बढाउन सकिने अन्तरसंसदीय सहकार्यका विषयमा पनि छलफल भएको थियो ।

सभामुख अर्यालले संसदीय कूटनीतिले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । यसबाट दुवै देशका सांसदबीच आपसी समझदारी, अनुभव आदानप्रदान र सहकार्य विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

भारतीय संसद्लाई लोकतन्त्रको सुदृढ संस्थाका रूपमा नेपालले उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै सभामुख अर्यालले लोकतान्त्रिक अभ्यास, संसदीय अनुभव तथा असल अभ्यासको आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

भेटमा राजदूत श्रीवास्तवले रसुवामा भएको क्षति अकल्पनीय रहेको बताउँदै भारतले राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गरिरहेको जानकारी दिए । संकटको घडीमा भारत सधैं नेपालको साथमा रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

सभामुख अर्यालले राजदूत श्रीवास्तवको आगामी जिम्मेवारी तथा व्यक्तिगत जीवनको सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्दै नेपालमा रहँदा पुर्‍याएको योगदानका लागि धन्यवाद दिए ।

श्रीवास्तवले २५ जुन २०२२ मा नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यभार सम्हालेका थिए । सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका उनले हङकङ, बेइजिङ र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा काम गरेका थिए ।

यसअघि उनले चीनको सांघाईस्थित भारतीय महावाणिज्यदूत, कम्बोडियाका लागि भारतीय राजदूत तथा सांघाईस्थित न्यू डेभलपमेन्ट बैंकमा समेत जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय