प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको ८१औं महासभालाई सम्बोधन गर्दै नेपालले भोगेको जलवायु परिवर्तनको असर, दीर्घकालीन प्रभाव र त्यसलाई न्यूनिकरण गर्न विश्व समुदायको सहकार्य आवश्यक रहेको बताएका छन्।

शुक्रबार बिहान सम्बोधनको सुरुमै बालेनले हिमालयको काखमा रहेको देशबाट मानवजातिले छिट्टै भोग्नुपर्ने गम्भीर चेतावनी लिएर आएको भन्दै प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघमा असाधारण स्तरको मृत्यु र विनाशबारे बोल्नुपरेको बताए।

‘म चाहन्थें कि आज म यहाँ केवल विकास, लोकतन्त्र, शान्ति र एउटा युवा राष्ट्रको आकाङ्क्षाबारे कुरा गर्न उभिन सकूँ। तर यसको सट्टा, मैले विशाल स्तरको मृत्यु र विनाशबारे बोल्नुपर्ने भएको छ,’ बालेनले अगाडि भने, ‘ती परिवारहरूबारे, जो आफ्ना प्रियजनको प्रतीक्षामा छन्, तर उनीहरू अब कहिल्यै घर फर्कने छैनन्। ती समुदायहरूबारे, जो हिलो, ढुंगा र पानीभित्र आफ्ना मानिसहरू खोजिरहेका छन्, जसका शवहरू सायद अब कहिल्यै फेला पर्ने छैनन्।’

भदौ १० मा भोटेकोसी बाडीले ल्याएको विनासको कथा सुनाउँदै बालेनले संयुक्त राष्ट संघमा भनेका छन्, ‘ती पुलहरू, सडकहरू, विद्यालयहरू, घरहरू र जीविकोपार्जनका आधारहरूबारे, जुन केही मिनेटमै बगेर गए। र, एउटा त्यस्तो देशबारे, जसले दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा गरिरहेको निरन्तर प्रगतिलाई बीचमै रोकिदिएको छ।’

उनले भोटेकोसी बाढीलाई संयुक्त राष्ट्र संघमा ‘हिमालय सुनामी’ भनेर रेकर्ड गराएका छन्। उनले भनेका छन्, ‘चार साताअघि विश्वले नेपालका हिमाली समुदायहरूलाई बर्बरतापूर्वक बगाएर लगेको विनाशकारी बाढीका भयावह दृश्यहरू देख्यो। धेरैले यसलाई ‘माउन्टेन सुनामी’ वा ‘हिमालयन सुनामी’ भनेका छन्।’

यस्ता छन् बालेनले संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधनको मुख्य अंश

१. भोटेकोसी–त्रिशूलीको यो विपत्ति केवल स्थानीय त्रासदी थिएन। यो विश्वका लागि एउटा चेतावनी थियो। र आज म तपाईंहरूसामु प्रश्न गर्न चाहन्छु- के तपाईंहरूले त्यो चेतावनी वास्तवमै सुन्नुभएको छ?

२. करिब तीन वर्षअघि, सगरमाथाको छायामा उभिएर संयुक्त राष्ट्रसंघका महासचिवले मानवजातिलाई जलवायु संकटको आसन्न जोखिम र त्यसप्रतिको हाम्रो बेवास्ताबारे चेतावनी दिनुभएको थियो। विश्वको सर्वोच्च शिखरबाट आएको त्यो आह्वानलाई पर्याप्त रुपमा सुनिएन। हामी नेपालले त्यो सुन्यौँ। हाम्रा समुदायहरूले सुने। विश्वभरका वैज्ञानिकहरूले सुने। उनीहरूले प्रमाणसहित त्यस चेतावनीलाई दोहोर्‍याए।

३. जलवायु परिवर्तनले नाजुक हिमाली पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ। स्थायी रूपमा जमेको जमिन अर्थात् पर्माफ्रोस्ट पग्लिरहेको छ। हिमनदीमुनिका पहाड र भिरालो भूभाग चिरिँदैछन्। र यसले हिमताल विस्फोट, बरफ तथा चट्टानका पहिरो, बाढी, पहिरो र अन्य क्रमिक विपद्को जोखिम तीव्र बनाइरहेको छ।

४. जलवायु परिवर्तनले सीमा चिन्दैन। हिमनदी र बाढी पासपोर्ट बोकेर यात्रा गर्दैनन्।

५. कम्तीमा १४०० जनाको मृत्यु र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको अवस्थामा गरिएको प्रारम्भिक मूल्यांकनअनुसार भौतिक पुनःस्थापनाका लागि हाम्रो कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबरको आवश्यकता पर्न सक्छ।

६. नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्छ। यो संकट हामीले सिर्जना गरेका होइनौँ। तर यसको ठूलो मूल्य हामीले चुकाइरहेका छौँ।

७. हाम्रा हिमनदीहरू तीब्र गतिमा पग्लिरहेका छन् र नदीहरू कम अनुमानयोग्य बन्दैछन्। हाम्रा पहाडी भिरालो भूभाग अस्थिर बन्दैछन्। प्रत्येक ठूलो विपत्तिले विकासका वर्षौँको उपलब्धि मेटाउने खतरा बढाइरहेको छ।

८. नेपालका लागि जलवायु विपत्ति केवल मानवीय संकट होइन- यो विकासको आपतकाल हो। यसले सडक, पुल, विद्यालय, घर, खेतबारी र जीविकोपार्जन नष्ट गर्छ। यसले हाम्रो भविष्यलाई ऊर्जा मानिने आवश्यक स्वच्छ ऊर्जा पूर्वाधारसमेत नष्ट गर्छ।

९. यस्तो क्षतिले हामीले नगरेको क्षतिको मर्मत गर्न एउटा गरिब देशलाई ऋण लिन बाध्य बनाउँछ। तर, हामी यहाँ कुनै देश वा महादेशलाई दोष दिन आएका होइनौँ। हामी जलवायु परिवर्तनलाई अर्को भूराजनीतिक युद्धभूमि बनाउन पनि आएका होइनौँ। हामी सबैलाई आफ्नो जिम्मेवारी र ऐक्यबद्धता पुनःप्रतिबद्ध गर्न आग्रह गर्न आएका हौँ।

१०. संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी रूपरेखाभित्र अन्तर्राष्ट्रिय समुदायले यसअघि नै एउटा सिद्धान्तमा सहमति गरिसकेको छ- यो समस्यामा ऐतिहासिक रूपमा बढी योगदान गर्ने र समाधानका लागि बढी क्षमता भएका पक्षले बढी जिम्मेवारी लिनुपर्छ। जलवायु न्याय संयुक्त राष्ट्रसंघका दस्तावेजमा सुन्दर सुनिने एउटा वाक्यांशमा मात्र सीमित रहन सक्दैन।

११. हिन्दुकुश हिमालय क्षेत्रमा करिब २ अर्ब मानिस बसोबास गर्छन्। यी पर्वतहरूले नेपालभन्दा धेरै परसम्मका जनसंख्यालाई पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जन उपलब्ध गराउँछन्। हिमालय पृथ्वीको कुनै परिधीय भूभाग होइन। हिमालय पृथ्वीको जीवन धान्ने प्रणालीको अभिन्न हिस्सा हो।

१२. हामी विद्युतीय सवारीसाधनको प्रयोग प्रवद्र्धन गरिरहेका छौँ। हामीले प्रयोग गर्ने विद्युतीय सवारी साधनको दर युरोपका केही भागसँग तुलनायोग्य छ। हामी स्थानीय तहमा जलवायु अनुकूलन क्षमता बलियो बनाइरहेका छौँ र बढ्दो तीव्रता तथा आवृत्तिका जलवायु विपत्तिसँग जुध्न अझ धेरै काम गर्नेछौँ।

१३. तत्कालको पहिलो कदमका रूपमा हामी नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव गर्छौँ। यस संयन्त्रमार्फत हामी भू–उपग्रहबाट प्राप्त तथ्यांक र विशेषज्ञता साझा गरौँ। जोखिमपूर्ण हिमतालहरूको निगरानी गरौँ। संयुक्त प्रारम्भिक चेतावनी प्रणालीलाई बलियो बनाऔँ। र विपत्ति आइपर्दा सीमापार सहायता समन्वय गरौँ।

१४. हिमालयलाई विभाजित सूचनाको सीमारेखा होइन, अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाऔँ।

१५. विकासशील देश नेपालले आफ्नो पारिस्थितिक योगदानको तुलनामा विश्वव्यापी भूमिका निर्वाह गरिरहेको छ। हामीले आफ्नो भूभागको झन्डै आधा हिस्सा वन क्षेत्रका रूपमा पुनःस्थापित गरेका छौँ। हामी स्वच्छ ऊर्जाको आवश्यकता पूरा गर्न र विदेशमा प्रदूषणकारी ऊर्जाका स्रोतलाई विस्थापित गर्न सक्ने गतिमा जलविद्युत् विकास गरिरहेका छौँ।

१६. विश्वव्यापी शासन व्यवस्थाको असफलताले अझ गम्भीर बनाएको संकटविरुद्ध नेपालले एक्लै उत्थानशीलता निर्माण गर्न सक्दैन।
महासभाले यी छ शब्दहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ- राहत, पुनःस्थापना, पुनर्निर्माण, जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता।

१७. जब जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिले एउटा गरिब देशको पूर्वाधार नष्ट गर्छ, त्यसको उत्तर केवल अर्को ठूलो ऋण वा स–साना अनुदानको टालटुले व्यवस्था हुन सक्दैन। हामीलाई विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग चाहिन्छ। हानी तथा नोक्सानी कोष, विश्व वातावरण सुविधा तथा अन्य वित्तीय संयन्त्रहरू अहिले पनि अत्यन्त अपर्याप्त छन्। जलवायु वित्तीय सहायता यस्तो अर्को प्रशासनिक भूलभुलैया बन्नु हुँदैन, जहाँ सहयोग आवश्यक भएका कमजोर देशहरूले वर्षौँ बिताउन परोस्।

१८. जब जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिले एउटा गरिब देशको पूर्वाधार नष्ट गर्छ, त्यसको उत्तर केवल अर्को ठूलो ऋण वा स–साना अनुदानको टालटुले व्यवस्था हुन सक्दैन। हामीलाई विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग चाहिन्छ। हानी तथा नोक्सानी कोष, विश्व वातावरण सुविधा तथा अन्य वित्तीय संयन्त्रहरू अहिले पनि अत्यन्त अपर्याप्त छन्। जलवायु वित्तीय सहायता यस्तो अर्को प्रशासनिक भूलभुलैया बन्नु हुँदैन, जहाँ सहयोग आवश्यक भएका कमजोर देशहरूले वर्षौँ बिताउन परोस्।

१९. सबैभन्दा कमजोर तथा सबैभन्दा कम शक्ति भएका मानिसलाई सबैभन्दा कम महत्त्व दिने विश्वव्यवस्थामा सुधार गरौँ। जब विश्वको छानाबाट फेरि अर्को चेतावनी आउँछ, त्यसलाई सुन्न तयार रहौँ र त्यसमा काम गर्न पनि तयार रहौँ।

२०. भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। बुद्धले देखाएको बाटोमा विश्व हिँड्न सकोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय