शुभ नारायण कामती
सिरहा । सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको मृत्यु भएको घटनामा ज्यानसम्बन्धी कसुर तथा संगठित अपराधसम्बन्धी मुद्दाका मुख्य प्रतिवादी करिब २२ महिनापछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना घर भई हाल सिरहाको नवराजपुर गाउँपालिका–५ बस्ने ३७ वर्षीय मोहम्मद कुरवान मंसुरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कुरवानलाई शनिबार साँझ करिब ५ः१० बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र नजिकबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको टोलीले लामो समयदेखि खोजी गरिरहेका कुरवानलाई सीमाक्षेत्रमा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुरवानसहित तीन जनाको समूहले प्रहरी टोलीलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गर्दै भाग्न खोजेपछि प्रहरीले जवाफी कारबाहीस्वरूप तीन राउण्ड गोली चलाएको थियो । त्यसक्रममा प्रहरीको गोली लागेर कुरवानको बायाँ हातको कुहिना र दायाँ खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते कुरवानलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल सिरहा ल्याइएको छ । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।
के भएको थियो २२ महिनाअघि ?
२०८१ मंसिर १६ गते बिहान बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्रमा मदिरा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीमाथि गम्भीर घटना भएको थियो । उक्त घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको मृत्यु भएको थियो । प्रारम्भिक घटनाबारे प्रकाशित विवरणमा पनि यादवलाई सीमाक्षेत्रमा जाँचका क्रममा आएको गाडीले ठक्कर दिएको दिएको उल्लेख छ ।
प्रहरीका अनुसार नेपालबाट भारततर्फ ठूलो परिमाणमा मदिरा लैजाँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी बडहरीबाट खटिएको टोलीले सवारीसाधन रोक्न खोजेको थियो । सो क्रममा उक्त गाडीले ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक यादवलाई ठक्कर दिँदै भागेको थियो ।
गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि गाडी चालकसहित संलग्न व्यक्तिहरू फरार भएका थिए ।
प्रहरीका अनुसार हाल पक्राउ परेका कुरवान उक्त घटनामा प्रयोग भएको डिएल ५ सिजी ७१७१ नम्बरको गाडीका धनी तथा चालकसमेत हुन् । घटनापछि उनी फरार रहँदै आएका थिए ।
संगठित अपराधसम्बन्धी मुद्दासमेत
प्रहरीका अनुसार कुरवानविरुद्ध ज्यानसम्बन्धी कसुर तथा सवारी ज्यानसम्बन्धी कसुरका साथै संगठित अपराधसम्बन्धी मुद्दा रहेको छ ।
लामो समयदेखि फरार रहेका कुरवानलाई खोजी गर्ने क्रममा सीमाक्षेत्रमै फेला पारिएको र नियन्त्रणमा लिन खोज्दा उनीसहितको समूहले प्रहरीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको छ । पक्राउ परेका कुरवानमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय