शुभ नारायण कामती
सिरहा । इलाका प्रहरी कार्यालय सुखीपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) अमिरी यादवमाथि तस्करीमा संलग्न व्यक्तिसँग रकम लिएर ‘लाइन’ दिएको तथा विभिन्न मुद्दामा पक्राउ परेका सवारीसाधनका पार्टपुर्जा अनधिकृत रूपमा खोलाएर बिक्रीवितरण गरेको आरोप लागेपछि उनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा तानिएको छ ।

तस्करीमा संलग्न एक महिलाले वरिष्ठ सई यादवमाथि आफूहरूबाट मासिक रकम लिने र रकम बुझाउने तस्करलाई सीमावर्ती क्षेत्रमा निर्बाध रूपमा आवतजावत गर्न दिने गरेको आरोप लगाएकी छन् । पछिल्लो समय नियमित रूपमा रकम बुझाउँदै आएका भनिएका एक तस्करको सामान प्रहरीले पक्राउ गरेपछि आफूले उक्त आरोप सार्वजनिक गरेको उनले बताएकी छन् ।
ती महिलाले सोमबार पत्रकार सम्मेलन गरी आफूबाट प्रत्येक महिनाको २० गते इलाका प्रहरी कार्यालय सुखीपुरमा घुमुवाका रूपमा कार्यरत कुशेश्वर साहले वरिष्ठ सई यादवका लागि १० हजार रुपैयाँ र आफूले एक हजार रुपैयाँ लिने गरेको आरोप लगाइन् । उनले उक्त रकम तस्करीका सामान ओसारपसारमा सहजता उपलब्ध गराउने प्रयोजनका लागि लिने गरेको दाबी गरेकी छन् ।
यस्तै, विभिन्न मुद्दामा पक्राउ परेका मोटरसाइकल तथा अन्य सवारीसाधनबाट बाहिरका मिस्त्री बोलाएर पार्टपुर्जा तथा अन्य सामान खोलाई बिक्रीवितरण गर्ने गरेको आरोपसमेत वरिष्ठ सई यादवमाथि लागेको छ ।
आरोप सार्वजनिक भएपछि वरिष्ठ सई यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा तानिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक वासुदेव पाठले पुष्टि गरे । उनका अनुसार यादवलाई आरोपबारे आवश्यक बुझाइ तथा अनुसन्धानका लागि जिल्ला तानिएको हो ।
यसैबीच, स्रोतले उक्त घटना एउटा उदाहरण मात्र भएको दाबी गर्दै जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका नाममा आर्थिक लेनदेन हुने गरेको आरोप लगाएको छ । तस्करीबाट उठाइएको रकम माथिल्लो तहसम्म पुग्ने गरेको दाबीसमेत स्रोतको छ ।



