काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरु भएको भागबन्डाको राजनीति वर्तमान राष्ट्रपतिसम्म आइपुग्दा रोकिएको छैन । भण्डारी राष्ट्रपति हुँदा कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईदेखि लिएर संघीय सरकारमा शिवमाया तुम्हाम्फेसम्मलाई मन्त्री बनाएर आफ्नो भाग सुरक्षित गरेकी थिइन्

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सोही पद्धतिलाई निरन्तरता दिँदै आफ्नो कोटाबाट सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिलाएका हुन् । राष्ट्रपति पौडेलले आफ्नो फुपूका छोरा आचार्यलाई आफ्नो कोटाबाट मन्त्री बनाएर आज शपथ गराएका छन् ।

राष्ट्रपति पौडेलकी फुपू लमजुङबाट बसाई सरेर कपिलवस्तुको बुद्धभूमि–३ मा बस्दै आएकी छन् । आचार्यले कपिलवस्तु–२ बाट राजनीति गर्दै आएका छन् । ‘सुरेन्द्रजीले राजनीति गरेको लामो समय भयो । मन्त्री हुन योग्य मान्छे पनि हो,’ कपिलवस्तुका एक काँग्रेस नेताले भने, ‘तर, राष्ट्रपतिकी फुपूको छोरा भएकाले उहाँकै कोटाबाट मन्त्री हुन सफल हुनुभयो । जे जस्तो भए पनि कपिलवस्तुले मन्त्री पाएकोमा खुसी छौँ ।’

यदि राष्ट्रपतिको नातादार नभएको भए आचार्य मन्त्री हुने अवस्था नरहेको ती नेताले बताए । आचार्यले महिला मन्त्रालय लिएर महेन्द्र राय यादवलाई खानेपानी मन्त्रालय सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय