सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ कल्याणपुरबाट प्रहरीले ९० किलोग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार राति करिब ११ बजे गाँजाको बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गरेको थियो ।
प्रहरी टोलीले कल्याणपुरस्थित ४३ वर्षीय जगदीश यादवको घरमा खानतलासी गर्दा सेतो बोराभित्र प्लास्टिकमा बेरिएर लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ ।
प्रहरीका अनुसार बोरासहित तौल गर्दा उक्त पदार्थ ९१ किलोग्राम र बोरा हटाउँदा ९० किलोग्राम रहेको छ । प्रहरीले बरामद पदार्थसहित घरधनी यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




