सिरहा । सशस्त्र प्रहरीले सिरहाका विभिन्न सीमा क्षेत्रबाट १२ लाख १५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार बुधबार जिल्लाका विभिन्न सीमा इलाकाबाट मोटरसाइकल, मदिरा, किराना सामान, कस्मेटिक सामग्री, खेलौना तथा कपडालगायतका सामान बरामद गरिएको हो ।
बरामद गरिएका सामानको अनुमानित मूल्य १२ लाख १५ हजार ४ सय ८० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए ।




