सिरहा । नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रमा ग्राहक पहिचान विवरण (केवाईसी) फाराम भर्न आउने ग्राहकको चाप बढेको छ। विद्युत् सेवासम्बन्धी सूचना अनलाइनमार्फत उपलब्ध गराउने तयारीसँगै ग्राहकको विवरण अद्यावधिक गर्न थालेपछि वितरण केन्द्रमा केवाईसी भर्न आउने ग्राहकको संख्या बढेको हो।
सिरहा वितरण केन्द्रका मिटर रिडिङ शाखा प्रमुख राघव यादवका अनुसार पछिल्लो समय दैनिक २ देखि ३ सय ग्राहक केवाईसी फाराम भर्न आउने गरेका छन्। सुरुवाती चरणमा फाटफुट रूपमा मात्र ग्राहक आउने गरे पनि अहिले कार्यालयमा नियमित रूपमा चाप बढेको उनले बताए।

सिरहा वितरण केन्द्रअन्तर्गत ५२ हजार ३ सय ३३ ग्राहक रहेका छन्। सबै ग्राहकको विवरण एकैपटक संकलन गर्न सम्भव नभएकाले मिटर रिडिङका लागि तोकिएको क्षेत्रअनुसार चरणबद्ध रूपमा केवाईसी विवरण संकलन भइरहेको यादवले बताए। उनका अनुसार हालसम्म करिब १० हजार ग्राहकको विवरण संकलन भइसकेको छ।
प्राधिकरणले मिटर रिडरमार्फत ग्राहकलाई केवाईसी फाराम उपलब्ध गराउँदै आएको छ। ग्राहकले फाराम घरमै भरेर वितरण केन्द्रमा बुझाउन सक्ने व्यवस्था गरिएको छ। फाराम भर्न समस्या हुने ग्राहकका लागि कार्यालयमै सहजीकरणको व्यवस्था गरिएको र त्यसका लागि २–३ जना कर्मचारी खटाइएको यादवले बताए।

केवाईसी फाराममा ग्राहकको तीनपुस्ते विवरण, मोबाइल नम्बर र जिमेल खातालगायतका विवरण समावेश गर्नुपर्नेछ। ग्राहकको विवरण अनलाइन प्रणालीमा प्रविष्ट भएपछि विद्युत् सेवा अवरुद्ध भएको तथा पुनः सञ्चालन भएको जानकारीलगायतका सूचना एसएमएसमार्फत उपलब्ध गराउने प्राधिकरणको तयारी छ।
प्राधिकरणका अनुसार केवाईसी फाराम भर्न कुनै शुल्क लाग्दैन। फाराम वितरण केन्द्रबाट निःशुल्क उपलब्ध गराइएको छ। कार्यालयमा आएर फाराम भर्ने ग्राहकले लालपुर्जा, नागरिकताको प्रतिलिपि र उपलब्ध भए राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।



