पोखरा । बडादशैँ, तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा अनलाइन सपिङको नाममा हुने ठगीका घटना बढ्न थालेपछि प्रहरीले सामाजिक सञ्जालमा आउने आकर्षक तथा अस्वाभाविक सस्तो अफरबाट सचेत रहन उपभोक्तालाई आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा नक्कली विज्ञापन राख्ने, सस्तो मूल्यमा सामान उपलब्ध गराउने प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएपछि सम्पर्कविहीन हुने प्रवृत्ति बढेको छ । टिकटक, फेसबुक र इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमार्फत यस्तो ठगी हुने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानका अनुसार गत वर्षको तुलनामा चालु वर्षमा अनलाइन ठगीसम्बन्धी उजुरी बढ्दै गएका छन् । अनलाइन सपिङप्रति बढ्दो आकर्षणको फाइदा उठाउँदै ठगी गर्ने समूह सक्रिय रहेको उनको भनाइ छ ।
प्रहरीका अनुसार हालै पोखराका एक व्यक्तिले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आइडीमार्फत सामान खरिद गर्ने क्रममा ४ लाख ४२ हजार रुपैयाँ गुमाएका छन् । सामान्यतः ५ सय रुपैयाँ पर्ने कुर्था खरिद गर्न खोज्दा अग्रिम भुक्तानीका नाममा पटक–पटक रकम पठाउन लगाई पीडितको खाताबाट ठूलो रकम निकालिएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले धनगढीबाट १७ वर्षीय एक किशोरलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ ।
डीएसपी पासवानले सामाजिक सञ्जालका व्यक्तिगत पेज वा टिकटक आइडीबाट आउने अस्वाभाविक रूपमा सस्ता अफरप्रति सचेत रहन आग्रह गरेका छन् । उनका अनुसार अनलाइन भुक्तानी गर्नुपरेमा सम्भव भएसम्म सामान प्राप्त भएपछि मात्र भुक्तानी गर्ने (क्यास अन डेलिभरी) विधि अपनाउनु सुरक्षित हुन्छ ।
प्रहरीले अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक रूपमा दर्ता भएका र विश्वासिला अनलाइन प्लेटफर्म प्रयोग गर्न, अपरिचित वा दर्ता नभएका अनलाइन पसललाई विश्वास नगर्न तथा शंकास्पद लिंक र अफरमा क्लिक वा रकम भुक्तानी नगर्न आग्रह गरेको छ ।
विशेषगरी चाडपर्वका बेला असामान्य रूपमा सस्तो मूल्य, सीमित समयको अफर, अग्रिम भुक्तानी र पुरस्कार वा उपहारको प्रलोभन देखाएर ठगी हुन सक्ने भएकाले उपभोक्ता स्वयं सचेत र सावधान रहनुपर्ने प्रहरीको भनाइ छ ।




