सिरहा । कार्तिक पूर्णिमा स्नान तथा भूतमेलाका अवसरमा सिरहा नगरपालिकाले मंसिर ८ गते मंगलबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले मंसिर ७ गते गरेको निर्णयअनुसार नगरपालिका मातहतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा एक दिन स्थानीय बिदा दिइएको हो ।
नगरपालिकाले सोमबार जारी गरेको सूचनामा कमला नदीमा परापूर्वकालदेखि धार्मिक आस्था र परम्परासँग जोडिएको कार्तिक पूर्णिमा स्नान तथा भूतमेलाको विशेष अवसरमा स्थानीय बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
कमला नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाका अवसरमा लाग्ने यस मेलालाई सिरहा क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको पर्वका रूपमा लिइन्छ । यस अवसरमा श्रद्धालु भक्तजनले कमला नदीमा स्नान गरी पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ पूजाआजा तथा अन्य धार्मिक गतिविधिमा सहभागी हुने गर्छन् ।
नगरपालिकाले नगरवासी, कर्मचारी तथा सेवाग्राहीलाई धार्मिक परम्पराको सम्मान गर्दै मेलामा सहभागी हुन आग्रह गरेको छ । साथै, मेलालाई भव्य र सभ्य बनाउन सबैको सहयोग अपेक्षा गरिएको सूचनामा उल्लेख छ ।
स्थानीय बिदाका कारण सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति नगरपालिकाले क्षमायाचना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय