Criminal in handcuffs

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ गुम्बा चोकबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवार अर्का एक व्यक्ति भने ज्याकेट छाडेर फरार भएका छन् ।
शनिबार राति करिब ९ः३० बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गुम्बा चोकस्थित भित्री सडकखण्डमा प्रदेश २–०४–००१ प १६८७ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई शङ्कास्पद अवस्थामा फेला पारेपछि जाँच गर्न खोजेको थियो । प्रहरी टोलीलाई देखेपछि एक जना व्यक्ति आफूले लगाएको ज्याकेट छाडेर फरार भएका थिए भने अर्का व्यक्ति गोलबजार नगरपालिका–२ का ३० वर्षीय योगेशकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार सिंहको शरीर तलासी गर्दा प्लास्टिकसहित ९७० मिलिग्राम र प्लास्टिकबाहेक ७४० मिलिग्राम तौल भएको खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा एक थान स्क्रिन टच मोबाइल बरामद भएको छ ।
फरार व्यक्तिले छाडेको ज्याकेट खानतलासी गर्दा कल्याणपुर नगरपालिका–१० का जयकुमार महतोका छोरा देवनारायण महतोको नाममा रहेको नेपाली नागरिकताको प्रमाणपत्र, मोटरसाइकलको बिलबुक र एक थान डिजिटल तराजुसमेत फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिंहलाई बरामद लागुऔषध र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय