सिरहा । सिरहाको सिरहा नगरपालिका–७ स्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
शनिबार राति करिब १० बजे ताज होटलमा केही व्यक्ति जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले छापा मारेको थियो ।
प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा नगद, तास र विभिन्न कम्पनीका १० थान मोबाइल फोनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सिरहाको अर्नमा गाउँपालिका–८ रडिया टोलका ३५ वर्षीय रामकुमार यादव, सिरहा नगरपालिका–७ शिवचोकका ३५ वर्षीय सन्तोषकुमार साह र सोही वडाका ४६ वर्षीय खेमविक्रम थापा रहेका छन् । त्यस्तै, सिरहा नगरपालिका–१८ लक्ष्मीनिया टोलका ३५ वर्षीय रामसेवक मण्डल र ३१ वर्षीय सञ्जितकुमार मण्डल, सिरहा नगरपालिका–१ का ४२ वर्षीय अरुणकुमार यादव तथा सिरहा नगरपालिका–२ का ३६ वर्षीय राकेशकुमार यादव, ४२ वर्षीय दिनेशकुमार यादव र ३९ वर्षीय काशी राय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल, मिदनापुर जिल्लाको दासपुर थाना क्षेत्रका ४४ वर्षीय सपन रोय पनि रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट नेपाली रुपैयाँ एक लाख सात हजार सात सय १०, भारतीय रुपैयाँ एक हजार एक सय २०, विभिन्न कम्पनीका १० थान मोबाइल फोन, नयाँ तासका १३ बण्डल र खुला २१४ पत्ती तास बरामद गरिएको छ ।
पक्राउ परेका १० जनालाई बरामद नगद तथा सामानसहित जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।





