
काठमाडौं । पछिल्लो समय नेपालमा फेरि कोरोना संक्रमणको दर बढ्दै गएको छ।
पछिल्लो एक हप्तामा कोरोनाको संक्रमण लगातार बढिरहेको छ। त्यसमाथि कोरोनाको अर्को भेरियन्ट ओमिक्रोन पनि नेपालमा देखिएपछि आममान्छेमा त्रास थपिएको छ।
शनिबार मात्र नेपालमा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार २ सय ६२ परिक्षण गरिएको थियो। शनिबार कोरोना मुक्तको संख्या २९७ रहेको छ। गएको एक हप्तामा देशभर करिब ३ हजार ८ सय २२ जनामा कोरोना देखिएको छ।
शुक्रबार कोरोनाका ९ सय ६८ जनामा कोरोना देखिएको थियो। त्यसैगरी, बिहीबार ५४०, बुधबार ४३५, मंगलबार ३९३, सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना देखिएको छ।
त्यसमाथि शुक्रबार नेपालमा २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेका थिए।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित कोरोना भाइरसका १ हजार १ सय ४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको जनाएको हो। एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको थियो।
ओमिक्रोन रोक्न सरकारको तयारी के छ?
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित संक्रमण फैलन नदिन तयारी गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन्।
सम्भावित खतरालाई रोक्न र पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन नदिन गृहकार्य गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले बताइन्।
प्रवक्ता मिश्राले भनिन् ‘ओमिक्रोन संक्रमण बढ्न नदिन सरकारले खोपको उपलब्धता सुनिश्चित गर्ने, प्रवेश नाका तथा उच्च जोखिममा रहेका क्षेत्रमा परीक्षण तीव्र गर्ने, क्वारेन्टाइनको व्यवस्थापन गर्न, स्वास्थ्य उपकरण व्यवस्थापन तथा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीको उपलब्धता र अन्य पूर्व तयारी गरिरहेको छ।’
उनले लकडाउन गर्नुपर्ने बाध्यात्मक स्थिति आउन नदिन खोपको पूर्ण मात्रा लगाउन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइन्। प्रवक्ता मिश्राले आफू र आफन्तलाई सुरक्षित राख्नु सबैको जिम्मेवारी भएको बताइन्। उनले भनिन् ‘जिम्मेवार नागरिकको हैसियतले आफू र आफ्ना प्रियजनलाई सुरक्षित राख्ने सबैको जिम्मेवारी हो।’
कतिले लगाए खोप?
नेपालमा हालसम्म लक्षित वर्ग (१८ वर्षभन्दा माथि उमेर समूह) को ५० प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको सरकारी अधिकारीहरू बताउँछन्। स्वास्थ्य मन्त्रालयले १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण मात्राको खोप लगाउने लक्ष्य लिएको छ।
गत बुधबारसम्म लक्षित कुल जनसंख्याको लक्ष्यअनुसार ७३ दशमलब ९ प्रतिशतले कम्तीमा पहिलो मात्रा र ५४ दशमलब २ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको प्रवक्ता मिश्राले बताइन्।
‘यही पुस मसान्तभित्र लक्षित जनसंख्याको दुई तिहाइलाई खोप दिने लक्ष्यअनुसार बागमती र गण्डकी प्रदेशले लक्ष्य हासिल गरिसकेको देखिन्छ’ प्रवक्ता मिश्राले भनिन्, ‘अन्य पाँच प्रदेशमा लक्ष्य हासिल गर्न खोप अभियानलाई तीव्रता दिएका छौं। अघिल्लो एक साताको तुलनामा यो साता पहिलो मात्रा खोप लगाउनेहरू २१ प्रतिशत र दोस्रो मात्राको खोप लगाउनेहरू २० प्रतिशतले वृद्धि भएको छ।’
देशका कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जनालाई आधार बनाएर हेर्दा बुधबारसम्म ४८ दशमलव ४ प्रतिशतले कम्तीमा पहिलो र ३५ दशमलव ६ प्रतिशतले कोभिडविरुद्धको दुवै मात्राको खोप लगाइसकेका छन्।
सरकारले आफ्नो लक्ष्य पूरा गर्न हालसम्म ३ करोड ९२ लाख ३ हजार ९२७ डोज खोप आयात गरेको छ। तीमध्ये २ करोड ५५ लाख २१ हजार ६३९ डोज खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा १ करोड ४७ लाख १७ हजार २२६ जनाले कम्तीमा एक मात्रा खोप पाएका छन् भने १ करोड ८ लाख ४ हजार ४१३ जनाले दुवै मात्रा खोप लगाइसकेका छन्।
मन्त्रालयको तथ्यांकअनुसार ९१ लाख १७ हजार ७५१ जनाले पूर्ण मात्रा खोप पाउन बाँकी छ। पहिलो मात्रा ५१ लाख ४ हजार ९३८ जनाले पाएका छैनन्। यद्यपि‚ खोप अभियान तीव्र रुपमा अघि बढाइरहेको सरकारी अधिकारीहरूले बताउँछन्। पछिल्लो एक दिनको अवधिमा मात्रै २ लाख ४६ हजार ३८५ जनाले खोप पाएको बुधबार सार्वजनिक तथ्यांक छ।