राजविराज — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सबैजसो विद्यालयमा शिक्षक अभाव हुँदा धेरै कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने समस्या छ । ती विद्यालयमा दरबन्दीअनुसार शिक्षक नियुक्त हुन नसकेका हुन् । शिक्षकको पदपूर्ति गर्न पालिकाले पनि ध्यान दिएको छैन ।
२०१६ सालमा स्थापना भएको तिलाठी कोइलाडी–१ तिलाठीको राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । हाल २ सय २५ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शिक्षक भने दुई जना मात्रै छन् । दुई वर्षअघिसम्म चार जना शिक्षक थिए । त्यसमध्ये दुई जनाले अवकाश पाए । रिक्त दरबन्दीमा पदपूर्ति हुन सकेको छैन । प्रत्येक कक्षाका लागि शिक्षक नहुँदा २–३ वटा कक्षा एकै ठाउँमा राखेर पढाउनु परिरहेको प्रधानाध्यापक प्रवीण कर्ण बताउँछन् ।

वडा १ कै जनता आधारभूत विद्यालय बेल्ही मल्हनियामा कक्षा ६ सम्म पढाइ हुन्छ । हाल ३ सय ९२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शिक्षक भने ३ जना मात्रै छन् । यहाँ पनि एउटै कोठामा ३/३ वटा कक्षा राखेर पढाइ भइरहेको प्रधानाध्यापक राम साह बताउँछन् । तिलाठी कोइलाडी–५ स्थित राजाजी आधारभूत विद्यालयमा बाल विकासदेखि कक्षा ८ सम्मको पठनपाठन हुन्छ । ३ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत यो विद्यालयमा पनि दुई जना शिक्षक मात्र छन् । जसमध्ये प्रधानाध्यापकको अधिकांश समय कार्यालयको कामकाज र बैठकमै बित्छ । यो विद्यालयमा पनि दुई वर्षअघि चार जना शिक्षक थिए । त्यसमध्ये दुई जना अवकाश भइसकेपछि पदपूर्ति हुन सकेको छैन । शिक्षक अभावमा विद्यालयमा ३–३ कक्षाका विद्यार्थीलाई एकै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक देवनारायण पण्डित बताउँछन् ।
तिलाठी कोइलाडी–५ कै कृष्णकुमारी देवी आधारभूत विद्यालयमा कक्षा ६ सम्मको पढाइका लागि ४ जना शिक्षक छन भने राप्रावि कोबर्साइन र राप्रावी कुसहा कोबर्साइनमा ५/५ कक्षा २/२ जना शिक्षकको भरमा सञ्चालन भइरहेको छ । तिलाठी कोइलाडी–२ स्थित उम्देश्वर आधारभूत विद्यालयमा ७, वडा ३ स्थित राप्रावि सकरपुरामा ३, राप्रावि मुखिया टोल सकरपुरामा ४ जना शिक्षक मात्र छन् । वडा ६ को राप्राविको मधेपुरामा ५ कक्षा सञ्चालन छ भने शिक्षक २ जना छन् । हरिहर हरिनारायण राप्राविमा कक्षा ५ र शिक्षक २, वडा नम्बर ७ स्थित राप्रावि मंसापुरमा ५ वटा कक्षा र शिक्षक ३ जना रतथा वडा ८ स्थित राप्रावि सडेपारमा कक्षा ५ सम्म सञ्चालन र शिक्षक ३ जना मात्र छन् ।
तिलाठी कोइलाडीका सबै १३ वटै सामुदायिक आधारभूत विद्यालयमा कक्षाअनुसार शिक्षक छैनन् । लामो समयदेखि कक्षाको अनुपातमा शिक्षक नभए पनि पालिकाले पदपूर्ति गर्न चासो दिएको छैन । भएका शिक्षक पनि अवकाश हुँदै गएका
छन् । त्यसअनुसार पदपूर्ति हुन नसक्दा शिक्षक अभाव भएको पालिकाका शिक्षा संयोजक राजेश झाले बताए । ‘शिक्षकहरू रिटायर्ड हुँदै गए तर पदपूर्ति हुन सकेन, जसका कारण एकैपटक शिक्षक अभाव देखिएको हो,’ झाले भने ।
सरकारी मापदण्डअनुसार एक कक्षामा ४५ विद्यार्थी बराबर एक जना शिक्षक रहनुपर्ने हुन्छ । तर, त्यो व्यवस्था त परै जाओस् यहाँ एउटै कक्षामा ३ वटा कक्षाका विद्यार्थी राखेर पढाइ भइरहेको छ । शैक्षिक सत्र सुरु भइसकेको साढे ४ महिना बित्न लाग्दा विद्यालयमा पाठयक्रमअनुसार विषयगत पढाइ पनि हुन सकेको छैन । शिक्षक पदपूर्ति हुन नसक्नुको पछाडि व्यवस्थापन समिति गठन हुन नसक्नु प्रमुख कारण हो । १३ वटै सामुदायिक आधारभूत विद्यालयमध्ये एउटामा मात्र व्यवस्थापन समिति छ ।
समिति गठनका लागि वडाध्यक्षले एक महिलासहित दुई जना र गाउँपालिका अध्यक्षले पनि एक महिलासहित दुई जना मनोनीत गर्ने कार्यविधि छ । अघिल्लो स्थानीय सरकारले ल्याएको यो कार्यविधिको जनस्तरबाट विरोध भएको थियो । पालिकाकी उपाध्यक्ष फूलकुमारी साहले जतिसक्दो चाँडो कार्यविधि संशोधन गरी समस्या समाधान गर्ने बताइन् । ‘सामुदायिक विद्यालयमा शिक्षक अभावमा पढाइको स्तर खस्किएको छ,’ उनले भनिन्, ‘जतिसक्दो चाँडो कार्यविधि संशोधन गर्नेछौं ।



