सिरहा । अगामी वैशाखमा स्थानीय तह निर्वाचन हुन लागेको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको तयारी देशभर भईरहेको छ । निर्वाचन आयोग, नेपाल प्रहरीले निर्वाचन केन्द्रीत कार्यक्रम र बन्दोबस्तीमा जुटेको छ ।
अगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सिरहा जिल्लामा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सिरहाले इजाजत प्राप्त हातहतियार बुझाउन सोमवार सार्वजनिक सूचना जारी गरेको छ ।
इजाजत लिई हातहतियार राखेका व्यक्तिलाई चैत मसान्तभित्र आफूसँग रहेका हातहतियार तथा गोलीगट्ठा बुझाउन सूचना जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताएका छन् । अगामी २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन घोषणा भईसकेकोले शान्ति सुरक्षा कायम राख्नुपर्ने हुँदा आफ्नो सुरक्षाको कारण देखाएर इजाजत प्राप्त गरी राखेका हातहतियार बुझाउन आग्रह गरिएको प्रजिअ कवारीले बताए ।

चैत मसान्तभित्र इजाजत प्राप्त गरी आफूसँग राखिएको हातहितयार र गोलीगट्ठा जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाउन अनुरोध गरिएको भन्दै प्रजिअ कवारीले भने,‘इजाजत प्राप्त हातहतियार चैत मसान्तसम्म बुझाउन सूचना जारी गरिएको छ । निर्धारित समयभित्र हातहतियार नबुझाउनेको नियन्त्रणमा लिईनेछ ।’
इजाजत प्राप्त हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गरिएकोले हातहतियार राख्नेहरुले समयसीमा भित्रै जिल्ला प्रशासनमा बुझाउने गरी व्यवस्था मिलाईएको प्रजिअ कवारीले बताएका छन् । निर्वाचन पछि त्यस्ता इजाजत प्राप्त हातहतियार फिर्ता गरिने उनले बताए ।




