सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले आज स्थापनाको छैठौं वार्षिकोत्सवको अवसरमा विद्युतीय भुक्तानी ई–पेमेन्ट सेवा सुचारु गरेका छन् ।
सूचना प्रविधिको अधिकतम् उपयोग गर्दै जनतालाई छिटो छरितो एवम् सहजताको लागि विद्युतीय भुक्तानी सेवाको प्रारम्भ गरिएको नगरप्रमुख हरिनारायण चौधरीले जनाउनुभयो ।
विद्युतीय भुक्तानी सेवासँगै नगरवासी एवम् देश विदेश तथा दुर दराजको ठाउँमा बसेका नगरवासीलाई प्रशासनिक कामको लागि कार्यालय धाउनुपर्ने वाध्यता हट्ने आँकलन नगरपालिकाको छ । प्रदेश नं. २ मा सम्भवतः यस्तो सेवा दिने पहिलो नगरपालिका हुन सक्ने बुद्धिजीवीहरु बताउँछन् ।
विद्युतीय भुक्तानी सेवालाई प्रभावकारी ढंगले अगाडि बढाउन सबै वडाअध्यक्षहरुलाई आग्रह गर्दै नगरबाट निर्देशित सेवालाई विना झन्झटिलो तरिकाले समयमै सेवाग्राहीहरुलाई सेवा दिन कर्मचारीहरुलाई निर्देशन समेत गरिएको छ ।
चौध वटा वडा रहेको नगरपालिकाको सबै वडाहरुबाट जनताको घरदैलोमै विद्युतीय सेवाबाट सेवा प्रवाह गरिरहेको छ । नगरपालिकाको स्थापनाको दिवसको उपलक्ष्यमा नगरपालिकालाई निःशुल्क रुपमा जग्गा दान गर्नुहुनेहरुलाई सम्मान समेत गरेका छन् ।
वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि नगरपालिकाका दुई जना कर्मचारी नयनपुर अस्पतालमा कार्यरत ल्याब टेक्निसियन सन्ध्या लामा र ईलेक्ट्रिसियन वेदानन्द चौधरीलाई नगरपालिकाको कार्ययोजना क्रियान्वयनमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै जनही २५ हजार नगद सहित नगरपालिकाले सम्मान गरेका छन् ।