जनकपुरधाम । नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन् ।
खेलकुद तथा समाजकल्याणमन्त्री लखन दासका अनुसार एमालेका मन्त्रीहरूले आज (शुक्रबार) मुख्यमन्त्री यादवलाई राजीनामापत्र बुझाएका हुन् । उनीहरूले सरकारबाट बाहिरिने निर्णयसँगै समर्थनसमेत फिर्ता लिएको उनले जानकारी दिए ।
राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखन दास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन् ।
मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् । प्रदेश सरकारमा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका दलहरू सहभागी छन् ।
एमाले सरकारबाट बाहिरिएसँगै मधेश प्रदेशको सत्ता समीकरणमा फेरबदल हुने सम्भावना बढेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आगामी राजनीतिक समीकरण र सरकारको निरन्तरताबारे थप चासो बढेको छ ।




