२०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धको एक दशकको समय र गणतन्त्र आउनु भन्दा पहिला नेपाल र नेपालीलाई भन्नेको ‘ईमान्दारी’ र ‘शान्ति’का प्रतिकका रुपमा सारा संसारले चिन्थ्यो । नयाँ संविधान जारी भएपछि अहिले नेपाल गणतान्त्रिक देश बनेको छ । नेपालमा सामाजिक सद्भाव, कट्टरता, अराजकता, अनुशासनहिनताले गर्दा विश्व जगतमा नयाँ मानक स्थापित भएर ‘उदण्ड’ स्वाभावको रुपमा पहिचान बद्लिने जोखिम पुगेको छ । यसलाई निराकरण गर्नु आजको आवश्यकता हो । त्यसको सट्टामा राजनीतिक पार्टीको गठजोडले नेपालमा सरकारले गलत मानकहरुलाई नै आश्रय दिन पुगेको जस्तो देखिएको छ । नेपालमा स्थायी संस्थाहरुले परिवेशलाई बढ्ल्न भन्दा नयाँ ‘भाष्य’ स्थापित गर्नतर्फ उद्दत रहेको पाईन्छ । हामी नेपाली बहु–भाषिक, बहु–सांस्कृतिक तथा बहु–धार्मिक राष्ट्रका रुपमा चिनिएपनि ‘एकल धार्मिक’ शिक्षा नीति लागु गर्नु समाजमा असन्तुष्टी पैदा गर्नु, झन्झटिलो बनाउनु र खर्चिलो पनी हो ।
अहिलेको अवस्थामा जहाँ हामीले देशभर भएभरको समुदाहिक विद्यालयलाई आधुनिक बनाउन संघर्षरत छौं, शिक्षकको आपूर्ति गर्न सम्भव भईरहेको छैन् । यस्तो अवस्थामा अहिले अर्को शिक्षा नीति ल्याउनु राष्ट्रको लागि घातक साबित हुन भन्दा अरु केहि हुन सक्दैन् । फेरी यसो भनिरहँदा धार्मिक शिक्षाको आवश्यकता छैन् भन्न भाष्य स्थापित गर्न सकिदैन । अहिलेको समाज अराजकता, कट्टरता, ध्रुविकरणतिर गैरहेको समयमा हामीले आफनो राष्ट्रिय शिक्षा नीतिलाई आधुनिकीकरणको साथसाथै धार्मिक (नैतिक) शिक्षामा पनि जोड दिनुपर्छ । तसर्थ अहिले राज्यमा एउटा यस्तो सह–धार्मिक शिक्षा प्रणालीको विकास गर्नुपर्छ । जहाँ हामी सबै नेपालका हरेक जात धर्मका बालबालिकाहरु एकै स्थान एकै विद्यालय एकै कक्षाकोठामा बसेर एकसाथ आधुनिक शिक्षाका साथसाथै आफ्नो धार्मिक र मूल्यमान्यताका ज्ञान लिन पाउनु पर्छ । आजको बहुसाँस्कृतिक समाजमा सह–विश्वास (धर्म) शिक्षा प्रणाली आवश्यक छ । यसले एउटा यस्तो प्लेटफर्म प्रदान गर्दछ, जहाँ बालबालिकाहरूले शैक्षिक रूपमा मात्र सिक्दैनन् । तर मानवता, सम्मान र सहअस्तित्वका महत्वपूर्ण जीवन मूल्यहरू पनि सिक्न पाउँछन् । सही दृष्टिकोण, समावेशी पाठ्यक्रम र सामुदायिक सहयोगको साथै यो प्रणालीले साँच्चै धार्मिक भिन्नताहरू पार गर्ने, शान्तिपूर्ण र सामंजस्यपूर्ण संसारमा योगदान पुर्याउने पुस्ता सिर्जना गर्न सक्छन् ।

विभिन्न धर्मका दर्शन र सिद्धान्तहरूसँगै अध्ययन गर्नाले विद्यार्थीहरूमा अन्य विश्वासहरूप्रति सहिष्णुता र सम्मानको भावना विकास हुन्छ । जसले गर्दा समाजमा शान्ति र एकता कायम राख्न प्रेरित गर्छन् । एकल शिक्षण प्रणालीबाट धार्मिक कट्टरता आउने सम्भावना हुन् सक्ने सम्भावनालाई नकार्न सकिदैन् । नेपालमा कुनैपनि प्रकारको कट्टरता फैलिन नदिन मिश्रित शिक्षा नै सबैभन्दा प्रभावकारी साधन जस्तो लाग्छ । सबै शैक्षिक संस्थामा विज्ञान, तर्क, तथ्य र आधुनिकज्ञानलाई अनिवार्य रूपमा प्राथमिकता दिनुपर्छ । किनकि विकास तथ्यमा टेकेको हुन्छ, अन्धविश्वासमा होइन भन्ने कुरा र यर्थाथलाई सवैले आजको सन्दर्भमा बुझ्न अति नै जरुरी हुन्छ ।
विश्व सन्दर्भमा हेर्दा, जब कुनैपनि धर्म–समुदाय कट्टरताद्वारा प्रभावित हुन्छ, त्यसले समाजलाई विभाजन, डर र अविश्वासतिर धकेल्दछ । नेपालजस्तो विविधतायुक्त राष्ट्रमा यस्तो मनोवृत्ति फैलिनु राष्ट्रिय हित विपरीत हुन्छ । हामीकहाँ पनि कहिलेकाहीँ द्वेष फैलाउने वा धार्मिक पहिचानलाई उचालेर उत्तेजक सामग्री बनाउने व्यक्ति देखिन्छन् । जुन लोकतन्त्र र सामाजिक सद्भाव दुवैका लागि हानिकारक र चुनौती थपिने काम नै भएको हो । पुरानो भएभरको धार्मिक शैक्षिक संस्थानहरूलाई सरकारले राष्ट्रिय शिक्षा नियम अन्तर्गत शिक्षा सञ्चालन गर्नु आवश्यकता छ । जस्तै गुरुकुल, मदरसाहरूलाई सामुदायिक विद्यालयमा परिणत गरी राष्ट्रिय शिक्षा नीति अन्तर्गत धार्मिक तथा आधुनिक पाठ्यक्रम अध्ययन गराउनु पर्छ । गुरुकुल, मदरसाका साथसाथै सामुदायिक विद्यालयमा आवश्यकता अनुरुप धार्मिक ज्ञान आर्जन गर्न कुरान, वेद, भागवत गीता जस्ता धार्मिक ग्रन्थलाई धर्मका ज्ञान भएका शिक्षकको नियुक्ति गरी अध्यापन गराउनु नै अहिलेको आवश्यकता छ । फेरी यसो गर्दा न कुनै नयाँ संरचना बनाउने झन्झटन हुन्छ, नत आर्थिक भार नै थपिन्छ । झन् सामाजिक सद्भावको फाईदा भनेको सवैले एकैठाउँमा बसेर अध्ययन गर्न पाउनुले पनि बलियो बनाउँदै लैजान्छ ।
धार्मिक शिक्षाको मामिलामा हिन्दू, बौद्ध, ईसाई आदि समाजमा लचिलोपना भएपनि मुस्लिम समाजमा लचिलोपन धेरै नै न्यून देखिन्छ । विशेष गरी अधिकांश गरिब तथा अशिक्षित अभिभावकहरू अझै पनि मदरसा नै रोज्दै आएका छन् । जहाँ नेपाल सरकारको शैक्षिक पाठ्यक्रम अनुसार नेपाली, अंग्रेजी, गणित र विज्ञान जस्ता आधारभूत विषयहरू पर्याप्त रूपमा समावेश गरी पठनपाठनलाई समयसापेक्ष अनुरुप हुन सकेको छैन् । स्वाभाविक रूपमा, यस्ता मदरसा या गुरुकुलबाट निस्किएका विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारी बजारमा अन्य विद्यार्थीहरूसँगको तुलनामा प्रतिस्पर्धा गर्न कठिनाईमा पर्न सक्छन् । अब समय आएको छ, यस विषयमा सरकार, हिन्दु, मुस्लिम, बौद्ध, ईसाई समुदायका अगुवाहरू तथा सचेत अभिभावकहरूले गम्भीरतापूर्वक विचार गरी बालबालिकाको उज्ज्वल भविष्यकालागि आवश्यक सकारात्मक कदम चाल्नु पर्छ । शिक्षा नै सशक्तिकरणको मूल आधार हो । सही निर्णयले भावी पुस्तालाई उज्जवल भविष्यको दिशा डोड्याउन र परिवर्तन हुन मद्दत मिल्ने तथ्य विर्सन सकिदैन् । स्मरणीय छ, सबैक्षेत्र, धर्म र जातिका वालवालिकाहरू सशक्त र सक्षम नबनेसम्म नेपाल समृद्ध र समुन्नत हुने आशा र अपेक्षा गर्नु दीवा सपना नै हुनेछ ।
धर्मनिरपेक्ष, बहुभाषिक, बहुसाँस्कृतिक समाजमा एकल धार्मिक शिक्षालाई प्रोत्साहन दिनुको अर्थ समाजलाई जातीय द्वन्दमा धकेलनु हो । एकल जात धर्म भएका राष्ट्रसंग हाम्रोजस्तो विविधताले भरिएको राष्ट्रलाई हामीले दाज्न सक्दैनौैं । हामीजस्ता बहुधार्मिक राष्ट्र जहाँ एकल धर्मको शासन प्रणालीलाई अरुलाई काखा लगाउन खोज्दा देश धार्मिक कट्टरपंथीको हाथमा गएपछी त्यो राष्ट्र र त्यहाका अल्पसंख्यकहरूको हालत के हुन सक्छ भन्ने कुरालाई पनि हामीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । हामी एउटा यस्तो समाजको निर्माण गरौं, जहाँ एक अर्काप्रति आदर समान बनिरहोस् । हामी एउटा यस्तो समाज निर्माणमा लागौं, जहाँ आफ्ना छिमेकीलाई भाई भनोस् । रगतको साईनो खोज्नुमा सिमित नभएर खुला हृदयकासाथ कुनै जात धर्म समुदाय व्यक्ति भएपनि निसंकोच भाईभाईको वातावरणमा हुर्किन सकोस्, अगाडी वढ्न सकोस्, अपनत्व महसुस गर्न सकोस् ।
हिन्दु, मुस्लिम, किराँत, बौद्ध लगायतका सबै धर्मले जब सह–अस्तित्वलाई प्राथमिकता दिन्छन्, अनि राष्ट्र बलियो बन्छ । तर एक–अर्काप्रति अपमान, धर्मका नाममा द्वेष फैलाउने, वा समाजलाई विभाजन गर्ने सामग्री बनाउने कार्यले दीर्घकालीन रूपमा देशलाई अस्थिर बनाउन सक्छ । त्यही भएर नेपाललाई समुन्नत नेपाल बनाउन यहाँ साझा रुपमा बालबालिकालाई पठनपाठनको वातावरण निर्माण गर्नुपर्छ । एक ठाउँमा बसेर अध्ययन गर्ने वाणीको विकासमा हरेक समुदायका अगुवाहरुको सकारात्मक पहल हुनुपर्छ । जसले हाम्रो समाज र देशलाई उन्नत देशको रुपमा विश्व मञ्च उभिन र बलियो बन्नबाट कसैले रोक्न सक्दैन् । समाजमा आधुनिक शिक्षाको बहुआयमिक महत्वलाई हरेक समुदायले ग्रहण गर्दै नेपालमा भएका सामुदायिक विद्यालयहरुलाई उन्नत ज्ञान आर्जनको स्रोतका रुपमा उपयोग गर्नबाट चुक्नु हुँदैन् । यो अहिले र भविष्यको पुस्ताको निम्ति निकै नै महत्वपूर्ण र मननयोग्य विषय हो । यसमा खुला संवाद गरी हातेमालो गर्दै अघि वढ्नुको विकल्प पनि छैन् ।



