एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि बिहीबार (आज)देखि प्रश्नपत्र छाप्न सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा एसईईका प्रश्नपत्रहरू छापिँदै छ ।

जनक शिक्षाका सीईओ अनिल झाका अनुसार तीनवटा सुरक्षा घेराबीच एसईईका प्रश्नपत्रहरू छाप्ने कार्य भइरहेको छ । उनी भन्छन्, “नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दिएको सुरक्षामा प्रश्नपत्र छपाइरहेका छौँ । चैत मसान्तभित्र छापिएर जिल्ला–जिल्लामा पठाउनेछौँ ।”

बुधबार साँझ बोर्डको बैठक बसेको थियो । उक्त बैठकमा एसईईका लागि प्रश्नपत्र छाप्नेबारे छलफल भएको उनले जानकारी दिए । उनले भने, “दुई मोडालिटीमा परीक्षा गर्नेबारे छलफल भएको छ । केही परीक्षा केन्द्रमा अनलाइन माध्यममा प्रश्नपत्र पठाउने र बाँकीमा प्रश्नपत्र पठाएर परीक्षा गर्नेबारे छलफल भएको छ ।”

बोर्डले पाँच लाख सेटभन्दा बढी प्रश्नपत्र छपाउँदै छ । आवश्यकभन्दा १० प्रतिशत बढी संख्यामा प्रश्नपत्र छपाउने चलन छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले भने ठ्याक्कै यति संख्यामा प्रश्नपत्र छाप्ने भन्ने निर्णय नभएको दाबी गरे ।

गत वर्ष कक्षा–१२ को परीक्षा अनलाइन माध्यमबाट लिइएको थियो । अर्को वर्ष त्यस्तै मोडालिटीबाट कक्षा–१० को परीक्षा सञ्चालन गर्ने योजना रहेकोले योपटक केही स्थानमा अनलाइनमा प्रश्नपत्र पठाउन लागिएको शर्माको भनाइ छ ।

कोभिड–१९ का कारण ०७६ र ०७७ मा एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो । त्यति बेला छापिएका ५१ लाख सेट प्रश्नपत्र अझै थन्किएर बसेका छन् । ती प्रश्नपत्र अब के भन्ने जिज्ञासामा अध्यक्ष शर्मा भन्छन्, “त्यसको सफ्ट र हार्ड कपी दुइटै राखिएको छ । अहिले कतिपय कोर्स चेन्ज भएको छ । नभएकोचाहिँ प्रश्न बैँकको रूपमा राखेका छौँ । त्यस विषयमा अरू केही निर्णय भएको छैन ।”

यो वर्षको एसईई आउँदो वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुँदै छ । परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । दुई हजार परीक्षा केन्द्र तोकिएको छ ।

बोर्डले कक्षा–१२ को परीक्षाका लागि यसपालि पनि अनलाइन माध्यमबाटै प्रश्नपत्र पठाउने निर्णय गरेको छ । अध्यक्ष शर्मा भन्छन्, “कक्षा–१२ का लागि अनलाइनबाटै प्रश्न पठाउछाँै । किनकि, केन्द्रमा विद्यार्थी संख्या कम छन् । त्यसैले परीक्षा गराउन सजिलो हुन्छ ।”

बोर्डले आउँदो जेठभित्र हुने गरी कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको छ । केही दिनभित्रै परीक्षा मिति तोक्ने बोर्डको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!