सिरहा । अगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदाता नामावली अद्यावधिक गर्न सरोकारवालाहरुसँग छलफल गरेका छन् ।
फोटो सहितको मतदाता नामावलीमा देखिन सक्ने समस्यालाई केन्द्रीत गरी जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख र संचारकर्मीसँग अन्तक्र्रिया गरेको छ । सिरहा सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय सभाहलमा आयोजित कार्यक्रममा मतदाता नामावलीमा शुद्धता ल्याउने, स्थानीय निर्वाचनलाई मितव्यायी र प्रभावकारी सहित मत बदर न्यून गर्न सकारोवारवालाले निर्वाह गर्नुपर्ने भूमिका सम्बन्धमा छलफल गरिएको छ ।
सिरहा जिल्लामा हाल जम्मा ४ लाख १५ हजार २३१ मतदाताको संख्या रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दीरा यादवले बताएकी छिन् । मतदाता संख्याको आधारमा जिल्लामा २ सय २१ वटा मतदानस्थल र ५ सय १ वटा मतदान केन्द्र रहेको छ । मतदाता संख्या थपघट भएपछि मतदान स्थल र मतदान केन्द्र थपघट हुन सक्ने उनले बताएकी छिन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियामा सिरहा प्रहरी प्रमुख अर्जून तिमिल्सिना, सशस्त्र प्रहरी प्रमुख राजेश थापा, राष्ट्रिय अनुसन्धान सिरहाका प्रमुख तुल्सीराम प्रसाई, नेकपा एमालेका जिल्ला उपाध्यक्ष डा. नविन कुमार यादव, नेपाली कांग्रेसका प्रतिनिधी रामबाबु यादव, लोसपाका सर्वनारायण झा, जनमत लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, स्थानीय तहका प्रमुख एवंम प्रतिनिधी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।



