काठमाडौं । प्रदेश-१ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ । यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् मञ्जु बासीका अनुसार आज प्रदेश-१, २ र वाग्मती प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
यस्तै, आज राति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ । प्रदेश-१ र २ का केही ठाउँमा भने राति पनि ठूलो पानी पर्ने सम्भावना छ । नेपालमा अहिले भारतको बिहार तथा आसपासतिर बनेको न्यूनचापीय क्षेत्रको प्रभाव परेको छ ।
अबको एक/दुई दिनको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । यस्तै, यसपालि ढिलो गरी मनसुन बाहिरिने भएको छ । मौसमविद्का अनुसार यो हप्ताभरि नै मनसुन रहने सम्भावना छ । परिमार्जन गरिएको नयाँ तालिका अनुसार मनसुन अक्टोबर २ तारिख अर्थात हिजो नै बाहिरिनु पर्ने थियो ।
तर मनसुन भित्रिने र बाहिरिने समय तोकिएको मिति भन्दा एक/दुई दिन छिटो र एक/दुई दिन ढिलो हुने गर्छ । यसपालि गएको जेठ २८ गते मनसुन भित्रिएको थियो ।