
कास्की । जिल्ला प्रहरी कार्यालयले ८१ ज्ना फरार कैदी तथा थुनुवालाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा फरार कैदी तथा थुनुवालाई स्वस्फूर्त कारागार फर्किन आह्वान गर्दै आएको थियो । प्रहरीले असोज २० गतेभित्रमा कारागार फर्किन आह्वान गरेको थियो । यद्यपि, अझै केही फरार नै रहेका छन् ।
जेन–जी आन्दोलनपश्चात कास्की कारागारबाट विभिन्न मुद्दाका कैदी तथा थुनुवाहरूलाई फरार भएका थिए । प्रहरीले कारागारमा फर्र्किन आग्रह गरे पनि सम्पर्कमा आएका थिएनन् । प्रहरीले ८१ जना फरार कैदी तथा थुनुवालाई पक्राउ गरी कास्की कारागारलाई बुझाइएको छ । प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार जबरजस्ती करणी मुद्दाका १६ जना, लागुऔषध मुद्दाका १६ जना कर्तव्य ज्यान मुद्दाका ८ जना चोरी मुद्दाका २५ जनालाई पक्राउ गरेर कारागारलाई बुझाएको थियो ।

त्यस्तै ज्याने मार्ने उद्योग मुद्दाका ९ जना, अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अंगभंग मुद्दाका १ जना, कुटपिटबाट अंगभंग र मानव बेचबिखन मुद्दाका १ जनालाई पक्राउ गरी कारागार बुझाइएको प्रहरीले जनाएको छ ।
यसै गरी प्रहरीले चाडबाडसँगै शान्ति सुरक्षा कायम गर्न अपरेसन ३६५ सुरु गरेको छ । मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने समाजलाई त्रसित र आतंकित पार्ने शान्ति सुव्यवस्थामा खलल पु¥याउने खालका गतिविधि नियन्त्रण गर्न प्रहरीले अपरेसन सुरु गरेको जनाएको छ ।
प्रहरीले नियमितजसो ठूलो आवाज निकाल्ने मोटरसाइकल तथा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा लिँदै कारबाही सुरु गरेको प्रहरी प्रवक्ता बस्नेतले बताउनुभयो । प्रहरीले स्वरूप परिवर्तन गरिएका मोटरसाइकल मात्रै नभई स्वरूप परिवर्तन गर्ने मोटर साइकल तथा रिकन्डिसन हाउस सञ्चालकलाई समेत कानुनी कारबाही गर्ने उल्लेख गरिएको छ । जेन–जीको आन्दोलनपछि बजार क्षेत्रमा स्वरूप परिवर्तन गरिएको मोटरसाइकल र ध्वनि प्रदूषण गर्ने प्रवृत्ति आएको थियो । प्रहरीले अपरेसन सुरु गरेपछि केही हदसम्म रोकिएको छ ।