काठमाडौँ — राष्ट्र बैंकले आज आइतबार पनि वित्तीय प्रणालीबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ७ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम अझै रोकिएको छैन ।
यसरी हरेक दिन ऋण दिन मिल्ने रकम बढेपछि बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
अन्तरबैंक दर तल्लो सीमातिर झर्दा विभिन्न उपकरणमार्फत राष्ट्र बैंकले बजारबाट पैसा झिक्छ । अन्तरबैंक ब्याजदर माथिल्लो सीमातिर नजिकिँदा विभिन्न औजारमार्फत राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ । हाल साढे २ वर्षयता अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा कम भएपछि राष्ट्र बैंकले विभिन्न औजारमार्फत पैसा तानिरहेको छ ।



