जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका–२, बेलाचापीस्थित सतलोक आश्रममा परमेश्वर कबीरजीको ५०७ औं निर्वाण दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। माघ २४ देखि २६ गतेसम्म आयोजित यस कार्यक्रममा अखण्ड पाठ, विशाल भण्डारा, र समाज सुधारका विभिन्न कार्यक्रमहरु भएको थियो ।
कार्यक्रमको दोस्रो दिन, माघ २५ गते, सन्त रामपालजी महाराजको सान्निध्यमा १२ नवजोडीहरूको दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह सम्पन्न भएको थियो । उक्त विवाहमा कुनै पनि प्रकारको दाइजो वा आडम्बरको लेनदेन नभएको र बेहुला–बेहुली पक्षको कुनै खर्च नभएको आयोजकले जनाएका छन्। विवाह समारोहमा १७ मिनेटको गुरुवाणीद्वारा तेत्तीस करोड देवी–देवताहरूको स्तुति गरी लाखौं श्रद्धालुहरूको उपस्थितिमा विवाह सम्पन्न भएको थियो ।


सन्त रामपालजी महाराजका अनुयायीहरूले समाज सुधारको अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई ६३ युनिट रक्तदान पनि गरेका थिए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम अवधिभर शुद्ध घिउबाट तयार गरिएको बुनियाँ, हलुवा, रोटी, पुरी, सब्जी, सलाद, दाल, भात, अचार आदि सहितको विशाल भण्डाराको व्यवस्था गरिएको थियो। आयोजकहरूले सबै आगन्तुकहरूलाई निःशुल्क भोजनको व्यवस्था गरेका थिए।
माघ २६ गते तेस्रो दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न भएको हो । तीन दिनको अवधिमा हजारौं श्रद्धालुहरूको उपस्थिति रहेको आयोजकले जनाएका छन्। कार्यक्रम सम्पन्न भएपछि श्रद्धालुहरू घर फर्किएका हुन्।







