काठमाडौं । भारतको प्रयागराजमा १२ वर्षमा एक पटक हुने कुम्भ मेला चलिरहेको छ । सोही मेलामा एक बाबा भाइरल भइरहेका छन् । उनलाई आईआईटीयन बाबा भनेर सम्बोधन गरिएको छ ।

भारतको हरियाणा घर भएका अभय सिंह पेसाले एयरोस्पेस इन्जिनियर थिए । उनी एउटा राम्रो तलब भएको पेसा छाडेर अध्यात्मसँग कसरी जोडिए भन्ने कथा धेरैले रुचाएका छन् ।

अभय कुनै समय भारतको उत्कृष्ट इन्जिनियर कलेज आईआईटी बम्बई (IIT Bombay) मा पढेका थिए । तर हाल भने उनी लामो कपाल, झ्याप्प दाह्री र पुराना कपडामा मिडियासँग अन्तर्वार्ता दिइरहेको देखिन्छन् ।

आईआईटीमा अध्ययन पूरा गरेपछि अभय सन् २०१९ मा क्यानडामा बसाइँ सरेका थिए  । त्यहाँ उनले मासिक तीन लाख भारूसम्म कमाउँथे । राम्रो शिक्षा र कामका बावजुद आफू डिप्रेसनको शिकार भएको र जीवनमा केही न केही कमी रहेको महसुस गरेको उनले अन्तर्वार्तामा बताएका छन् ।

क्यानडामा आम्दानी राम्रो भएपनि सन्तुष्ट हुन नसकेपछि सबै काम छाडेर उनले अध्यात्मको बाटो रोजे ।

अभयले आफू भारतमा हुँदा चार वर्ष लामो प्रेम सम्बन्धमा रहेको बताएका छन् । तर, उनका आमा बुबाबीचको झगडाका कारण विवाहलाई लिएर मनमा डर सिर्जना भएको र आफ्नो प्रेम सम्बन्ध बिग्रिएको उनले सुनाएका छन् ।

हाल उनी आफ्ना विगत र परिवारलाई त्यागेर सत्यको खोजी र जीवनको उद्देश्य खोज्न तपस्यारत छन् । पहिले उनी चुरोट, मदिराको लतमा थिए । तर आफूमा सत्यको खोजी गर्ने भोक पहिलेदेखि नै रहेको उनले बताएका छन् । त्यही भोकका कारण नै उनलाई सांसारिक सुख त्याग गरेर पूर्ण रूपमा आध्यात्मिक बन्न प्रेरित गर्यो । अहिले सबैलाई भुलेर महादेवको चरणमा परेको उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!