
महोत्तरीको बर्दिबासस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजले ‘कृषि-आधारित शिक्षाबाट उद्यमशील अनुभव’ शीर्षकमा प्रथम स्नातक संगोष्ठी २०२५ आयोजना गरेको छ। संगोष्ठीको मुख्य उद्देश्य प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा छ महिनाको लामो इन्टर्नशिप कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले गरेको अनुसन्धानको नतिजा सार्वजनिक गर्नु थियो।
कार्यक्रमको अध्यक्षता कलेजका प्राचार्य अभिषेक श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा विस्तार निर्देशनालयका निर्देशक प्रा. डा. ऋषि राम कट्टेल रहेका थिए। प्रमुख अतिथि प्रा. डा. कट्टेलले नेपालको कृषि क्षेत्रमा मूल्य शृंखला थप गर्ने, हालको कृषि अवस्था र यसको सुधारको सम्भावनाबारे आफ्नो धारणा राख्दै, विश्वविद्यालयले शिक्षा, अनुसन्धान र विस्तारको माध्यमबाट कृषि क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रमका अध्यक्ष अभिषेक श्रेष्ठले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिई विद्यार्थीहरूको अनुसन्धानलाई अझ प्रभावकारी बनाउने र सम्बन्धित सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने घोषणा गरे।
संगोष्ठीमा ८० भन्दा बढी प्रस्तुतकर्ताहरूले आफ्ना अनुसन्धानका विचार र नतिजा आदानप्रदान गरेका थिए। संगोष्ठीले अनुसन्धानको नतिजालाई प्रकाशन र अन्य माध्यमबाट सरोकारवालाहरू समक्ष प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।