सिरहा । शैक्षिक सत्र सुरुभएसँगै पाठ्यपुस्तक हरेक विद्यालयमा पु–याउन थालिएको छ । समयमा पाठयपुस्तक पुग्दा शैक्षिक अवस्थामा सुधार हुने विश्वास व्यक्त भइरहेको छ । गतवर्ष पाठ्यपुस्तकको अभाव शैक्षिक सत्र सुरु भएको सात/आठ महिनासम्म भइरहँदा सामुदायिक विद्यालयका शैक्षिक गतिविधि नै प्रभावित भएको थियो ।
सिरहा नगरपालिका–११ भलुवाही स्थित श्री समाज सेवा आधारभूत विद्यालय मुसहरी टोलका प्रधानाध्यापक महेश कामतीका अनुसार यस वर्ष समयमा पाठ्यपुस्तक आएको हो । पाठ्यपुस्तक वितरण गरेपछि शैक्षिक सत्रमा पढाइ पनि आधा वैशाखबाट नै सुचारु हुने तयारी छ । पाठ्यपुस्तक समयमै पु–याउन सम्बन्धित निकायहरूले देखाएको तदारुकता प्रशंसनीय छ ।

सबै स्थानीय तहले पाठ्यपुस्तक र शिक्षकहरूको पोसाक भत्तालगायतका रकम निकासा गर्नेतर्फ सहजीकरणका लागि पहल थालिसकेको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोले बताउनुभयो । सामुदायिक विद्यालयको सुधारका लागि आवश्यक संयन्त्र बनाएर नियमित अनुगमनलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।



