जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरूलाई पनि आवतजावतका लागि सहज बनेको हो ।
त्यस्तै भारतीय यात्रु सरिताकुमारीले नेपाल र भारत रेल्वे सेवा सञ्चालनका कारण धेरै सुविधा थपिएको बताए । उनले दिनमा दुईपटक मात्रै चल्ने भएकोले केही समस्या भएको र अब यो संख्यालाई बढाएर लैजानुपर्ने आवश्यक्ता रहेको बताए । रेल चल्दा समयका साथसाथै पैसाको पनि वचत भएको बताए । रेलमा बसमा भन्दा धेरै सुविधा हुने र परिवारसहित यात्रा गर्दा रेल नै उपयुक्त हुने बताए ।

यात्रु रञ्जुकुमारी देवीले रेल सञ्चालन भएपछि यात्राका लागि राम्रो भएको बताइन् । त्यस्तै भारतको बिहारका रामकृष्णले रेल सञ्चालनपछि काठमाडौंको पशुपतिनाथ आउँदा सहज भएको र अन्य धार्मिक स्थलको भ्रमणका लागि यात्रा गर्न सहज बनेको बताए ।
रेल सञ्चालनपछि समयको वचत भएको र सेवा पनि राम्रो रहेको बताए । त्यस्तै भारतबाट घुम्नका लागि नेपाल आएका यात्रु विभाकर कुमारले नेपालमा रेलबाट आउँदा छिटो भएको र घुम्न पनि रमाइलो भएको बताए । त्यस्तै अर्का भारतीय यात्रु बलरामकुमारले रेलको यात्रा धेरै राम्रो भएको र समयको पनि वचत भएको बताए । उनले पशुपति घुम्न आउन रेल सञ्चालनले धेरै सहज बनाएको र पशुपतिनाथ मन्दिर धेरै राम्रो लागेको बताए ।
त्यस्तै टिकट विक्रेता सन्तुकुमार यादवले यात्रुहरूको चाप बढिरहेको बताए । उनले रेलहरु अझै थपेर दिनमा जतिसक्दो धेरैपटक रेल सञ्चालन गर्दा अहिलेको चापलाई धान्न सकिने बताए । उनले भारतबाट आउने यात्रु लगभग ४५ प्रतिशत हाराहारीमा रहेको र अन्य यात्रु भने स्थानीय रहेको बताए । उनले यात्रुहरुले पनि दिनमा तीनदेखि चार पटक रेल ओहोरदोहोर गरेमा सहज हुने प्रतिक्रिया दिइरहेको बताए ।
रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा बिस्तार गरेर स्पिड टेस्ट गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो ।
३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज बिस्तारका लागि सिभिल तर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विविध कारण देखाएर रेल चलाउन अलमल हुँदै आएको थियो । तर गत वर्षको चैत्रबाट रेल पुनः सञ्चालनमा आएसँगै नेपाली र भारतीय नागरिकलाई आवतजावतमा सहज भएको छ ।



