
सिरहा । नेपाली काँग्रेस सिरहा नगरपालिका १२ ले पूर्व गाविस अध्यक्ष जिवछ गुप्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
वडा सभापति विनोद चौधरीले हस्ताक्षर गरी सिरहाका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई बुझाएको ज्ञापन–पत्रमा साउन ११ गते मालपोत कार्यालयमा भएको कुटपिट घटनाका दोषी सिरहा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष शिव शंकर झा लगायतकालाई कानूनी दायरामा ल्याई कारबाही प्रकृया अगाडी बढाउन माग गरिएको छ ।
मन्दिरको नाउँमा जग्गा पास गर्ने विषयमा विवाद हुँदा वडा अध्यक्ष झा सहितको टोलीले पूर्वगाविस अध्यक्ष गुप्ता लगायतलाई कुटपिट गरेको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता नगरिएकोले वडाअध्यक्ष झा लगायतका व्यक्तिहरु खुलेआम घुमफिर गर्दै धाकधम्की दिदै आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यस अघि नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय समितिले पनि कारबाहीको माग गरेको छ । सिरहा कांग्रेस प्रतिनिधिसभा क्षेत्र–३ का सभापति संजय प्रकाश यादव नेतृत्वको टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी मार्फत गृहमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै जग्गा रजिष्ट्रेशन विषयमा विवाद हुँदा महासमिति सदस्य गुप्तालाई वडाअध्यक्ष झालगायत व्यक्तिले कुटपिट गरेकोले कारबाहीको माग गरेको हो ।
कुटपिटबाट गुप्ताको टाउको फुटेको छ । आँखासहित शरिरको विभिन्न भागमा गहिरो चोटपटक लागेको छ । प्रहरी प्रशासनको कमजोरीका कारण ज्यान मार्ने मुद्दालाई अभ्रद व्यवहारमा दर्ता गरिएको क्षेत्रीय सभापति यादवले बताएका छन् ।