धनुषा । धनुषाको १८ स्थानीय तह मध्ये १४ स्थानीय तहमा मात्र उम्मेदवारी दर्ता भएको छ । आइतबार पहिलो दिन ४ स्थानीय तहमा उम्मेदवारी दर्ता गराउन कुनै पनि उम्मेदवार नआएको र १४ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।
धनुषामा उम्मेदवारी दर्ता भएको विस्तृत विवरण प्राविधिक कारणले संकलन हुन नसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

यता जनकपुरधाम उपमहानगरको मेयर पदमा ९ र उपमेयरका लागि ३ सहित १७१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार पहिलो दिन राजनीतिक दलबाट दुई र स्वतन्त्रका ७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए । उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको हो । मेयरमा जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दर्ता गराएका हुन् ।
स्वतन्त्रबाट राहुलकुमार ओझा, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए । उपमेयरमा जनमत पार्टीबाट सन्तोषकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने कुमारी बनिता यादव र उमेश चौधरीले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।



