सिरहा। सिरहाको सुखीपुर नगरपालिका–१०, विश्वकर्मा चोकस्थित गागन खोलाको पुलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार बुधबार राति करिब १२ः३६ बजे विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा २६ बोरामा रहेको १ हजार १०२ किलो ६५५ ग्राम गाँजा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार गाँजा बा.१४ च २९४ नम्बरको फुलबडी बोलेरो र स.६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकलमा राखेर लैजाँदै गरिएको थियो ।
सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजा बोकेको बोलेरो र मोटरसाइकल छाडेर त्यसमा संलग्न व्यक्ति फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारीसाधनसहित गाँजा नियन्त्रणमा लिएर नं. ७ गण हेडक्वार्टर सिरहामा ल्याएको छ ।
विशेष सूचनाका आधारमा गण हेडक्वार्टर सिरहाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १५ जना, सुरक्षा बेस गोलबजारबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सात जना र सुरक्षा बेस सुखीपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा सात जना गरी २९ जनाको टोली परिचालन गरिएको थियो । बरामद गाँजा तथा सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय