मधेश प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पदबाट राजीनामा दिन लागेका छन् ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट सिरहा नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिन उनले मन्त्री पदबाट राजीनामा दिन लागेका हुन् ।

एकीकृत समाजवादीले सिरहा नगरपालिकाको नगरप्रमुखका लागि उनको एकल नाम सिफारिस गरेपछि उनी उक्त पदमा लड्न राजी भएका हुन् । यादवले आजै राजीनामा बुझाउन लागेको बताएका छन् ।
उनले भने, ‘पार्टीले मलाई नगरप्रमुखमा चुनाव लड्नुपर्ने निर्णय गरेपछि मन्त्री पद छाड्दै छु ।’
मन्त्री यादवले सिरहा नगरपालिकाका जनताको चाहना पनि प्रमोद यादव मेयरमा आओस् भन्ने रहेको र यस विषयमा आफूले त्यहाँका मतदातासँग पनि संवाद गरेको बताएका छन् ।
सबैले नगरपालिकाको नेतृत्व सम्हाल्न भनिरहेकाले आफू यस्तो निर्णयमा पुग्न बाध्य भएको यादवले जानकारी दिए ।
सिरहा नगरपालिकामा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्न सहमत भएका छन् ।
यादव २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभामा सिरहा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका थिए । यादवले गत मंसिर ५ गते मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।



