राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका-१० अमरैयाका दुई घर र गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
आगलागीमा शत्रुधन यादवका ५ वर्षीय छोरा सैलेशको मृत्यु भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । आगलागीबाट शत्रुधन यादव, मिन्टु यादव र ओम यादवको सगोलमा रहेको घर पूरै नष्ट भएको छ ।

आगो फैलिएर छिमेकी रघुनन्दन यादवको घरसमेत पूरै र अर्का छिमेकी जागेश्वर यादवको घर आंशिक जलेको छ । आगलागीबाट तीन भाइको सगोलमा रहेको घरबाट १२ लाख रूपैयाँ र रघुनन्दनको घर जल्दा ४ लाख रूपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।
दिउँसो ४ बजे अचानक लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब पौने ५ बजे नियन्त्रणमा लिइएको थियो ।



