सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादवले राजश्वको रकममा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट पारेका छन् ।
गाउँपालिकामा आईतवार पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष यादवले राजश्व रकम लिएको भन्ने आफूमाथि गम्भीर राजनीतिक षड्यन्त्र गरिएको बताएका छन् । राजश्व शाखाका नायवसुब्बा महेन्द्र यादवसँग कुनै प्रकारको पैसा सापटी नलिएको प्रष्ट पार्दै अध्यक्ष यादवले भने, ‘यो आरोप गलत हो । गम्भीर राजनीतिक षड्यन्त्र हो । राजश्व शाखाको एक पैसा पनि मैले लिएको छैन् । यो पूरै निराधार हो ।’

आफूमाथि राजश्व फाँटका नायव सुब्बा यादवले सापटी रुपमा राजश्व रकम लिएको भन्ने कुरा सरासर गलत रहेको भन्दै अध्ययक्ष यादवले भने, ‘म माथिको आरोप कुनैपनि आधारमा सही होईन् । राजश्वको रुपैयाँ लिएको भन्ने कुरा पूरै असत्य हो ।’
राजश्व फाँटका नायव सुब्बा यादवलाई राजश्वको रकम सरकारी खातामा जम्मा गर्न आठ महिना अगाडी नै पत्र काट्न लगाएको दावी गर्दै अध्यक्ष यादवले आफ्नो राजनीतिक र समाजिक छवीलाई धुमिल पार्ने गरी गम्भीर षड्यन्त्र भएको बताएका छन् । ‘आठ महिना अगावै राजश्व रकम जम्मा गर्न पत्र काट्न लगाए,’ अध्यक्ष यादवले भने, ‘आज आएर राजश्व फाँटका नासुले ममाथि पैसा सापटी लिएको आरोप किन लगायो ? यसले पनि आरोप सतही र षड्यन्त्र रहेको प्रष्ट हुन्छ ।’

आठ महिना अगाडी पनि त पैसा सापटी लिएको कुरा बाहिर आउनुपथ्र्यो तर त्यसो नगरी चुनावको मुखमा गम्भीर षड्यन्त्र गरिएको भन्दै अध्यक्ष यादवले राजनीतिक षड्यन्त्र र गलत आरोपवारे प्रष्ट पार्न पत्रकार सम्मेलनको आयोजना गरेको बताएका छन् ।
राजश्वर रकम हिनामिना गरेको नायव सुब्बा महेन्द्र यादवलाई जिम्मेवारीवाट मुक्त गरिएको छ । राजश्व शाखाको जिम्मेवारी विष्णुपुर गाउँपालिकाका सहायक (पाँचौं) पदका सुन्दर गोईतलाई दिईएको प्रमुख प्रशासकीय अधिकृत दिप कुमार यादवले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार विष्णुपुर गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्थानीय तह आय लेखांकन प्रणाली सफ्टवेयर मार्फत २०७७ साउन १ देखि २०७८ असार ३१ सम्म संकलन भएको राजश्व रकम ५५ लाख २७ हजार ७७ रुपैयाँ आम्दानी भएकोमा गाउँपालिकाको राजश्व शाखाबाट आन्तरीक राजश्व दाखिला हुन ३४ लाख २३ हजार ७९० रुपैयाँ रहेको र सो रकम दाखिला नभएकोले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ बमोजिम २५ प्रतिशत जरिवाना सहित ४२ लाख ७९ हजार ७३७ रुपैयाँ दाखिला गर्न गत चैत १५ मा पत्र काटिएको बताए । पत्र काटिएको १० दिन वढी भएपनि यादवले रकम जम्मा नगरी राजनीतिक षडयन्त्र गरेको गाउँपालिकाका स्रोतले जनाएको छ । नासु यादवले गाउँपालिका अध्यक्ष यादवलाई फसाउन जाल बुनेर प्रपञ्च रचेको स्रोतको भनाई छ ।
यता नासु यादवले चैत महिनाभित्र आफूमाथि देखिएको राजश्व रकम गाउँपालिका खातामा जम्मा गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय