सिरहा । भिडभाड नियन्त्रण र सेवा प्रवाहमा सहजता ल्याउन आजदेखि जिल्ला प्रशासन कार्यालय सिरहामा टोकन प्रणाली सुरु गरिएको छ। नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलगायतको सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन टोकन प्रणाली जडान गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले कार्यालयबाट उपलब्ध सेवालाई सहज र व्यवस्थित गर्न टोकन प्रणालीको थालनी गरिएको बताए । दैनिक चार सय सेवाग्राहीलाई टोकन प्रणालीबाट सेवा प्रवाह गर्ने र अनावश्यक झन्झटको अन्त्य हुने अपेक्षा गरिएको कवारीले बताएका छन् ।

टोकन प्रणालीअनुसार आफ्नो पालोमा सेवाग्राहीले सेवा पाउनुका साथै कार्यकक्षको झ्यालअगाडि अनावश्यक भिड कम हुने उनले बताए । टोकन प्रणालीमार्फत सेवा सञ्चालन गर्न धनगढीमाई नगरपालिकाले टोकन मेसिन सहयोग गरेको हो । धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले एक कार्यक्रमबीच टोकन मेसिन हस्तान्तरण गरेका थिए ।



