सिरहा । स्थानीय निर्वाचन–२०७९ लाई लक्षित गरी देशभर म्यादी प्रहरीको भर्ना प्रकृया सुरु भएको छ । जस अन्र्तगत सिरहा जिल्लामा पनि म्यादी प्रहरी भर्ना आईतवारवाट सुरु भएको हो । निर्वाचन सुरक्षामा खटिने गरी म्यादी प्रहरीमा भर्ना हुन जिल्ला सदरमुकाम सिरहामा भीड बढेको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले आह्वान गरेको म्यादी प्रहरीको भर्ना अन्र्तगत सिरहा जिल्लाबाट २ हजार ३३१ जना चयन गरिने प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जनाएका छन् ।
सिरहा जिल्लाको ८ नगरपालिका र ९ गाउँपालिकामा गरी कुल १७ वटा स्थानीय तहवाट २ हजार ३३१ जना म्यादी प्रहरी चयन गरिने उनले बताएका छन् । पहिलो दिन आवेदन दिन पुग्नेहरुमा अधिकांश पुरुष नै रहेको छ । महिलाको संख्या अत्यन्त न्यून रहेको छ ।
प्रहरी प्रवक्ता डिएसपी बुढाथोकीले म्यादी प्रहरीमा महिला र पुरुषको कोटा नछुट्याएको भन्दै आवेदनको आधारमा भर्ना गरिने बताएका छन् ।

म्यादी भर्नाका हुन प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको छ । म्यादी भर्नाको आवेदन चैत ६ गते आइतबार देखि ११ गते शुक्रबार सम्मको समय दिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आवेदन दिएकाहरुको छनोट चैत १५ देखि हुने र अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरी चैत २८ देखि प्रशिक्षण सुरु हुने तालिका रहेको छ ।
यस्तै पहिलो दिन सात सय ३८ जनाले आवेदन दर्ता गराएका छन् ।



