काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी सम्बन्धको लामो इतिहास रहेको बताएका छन् ।
उनले भने, ‘दुई देशबीचको आर्थिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध अनादिकालदेखि नै छ । मित्रता, पारस्परिक सम्मान, समझदारी र एकअर्काको जायज चासो तथा संवेदनशीलताको कदरले असल छिमेकी सम्बन्धको आधार बनाउँछ ।’ प्रधानमन्त्री दाहालले पछिल्ला दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तारितै हुँदै गएकामा खुसी व्यक्त गरे ।

प्रधानमन्त्रीले भने, ‘म यस अस्पताल र स्तरोन्नति र पुनःनिर्माणको यो विशेष परियोजनामा सहयोग गरेकोमा जनवादी गणतन्त्र चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
प्रधानमन्त्रीले निजामती अस्पताल दुई देशबीचको दशकौँदेखिको घनिष्ट सम्बन्धको प्रतीकका रूपमा पनि उभिएको उल्लेख गरे । स्वास्थ्य पूर्वाधार सिर्जना एवं विस्तार गर्न र स्वास्थ्य संस्थामा आवश्यक उपकरण र चिकित्सा सहयोगका लागि चीन सरकारले उपलब्ध गराएको चीनको सहयोग सह्रानीय रहेको उनको भनाइ छ ।
भरतपुरमा क्यान्सर अस्पताल निर्माणमा पनि चीनले सहयोग उपलब्ध गराएकामा चीन सरकारलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले यस क्षेत्रमा चीन सरकारबाट निरन्तर प्राप्त भएको साथप्रति आभार प्रकट गरे।
चीनका विभिन्न विश्वविद्यालयमा नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीले अध्ययन गरिरहेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले त्यहाँबाट फर्किएकाले यहाँ उत्कृष्ट सेवा गरिरहेकोमा प्रसन्नता व्यक्त गरे ।
कोरोनाकालमा कोभिड खोप, अत्यावश्यक चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा सामग्रीमा चीनले गरेको उदार सहयोगप्रति कृतज्ञ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘नजिकको छिमेकी र मित्रराष्ट्र चीनको यो उदारता र वास्तविक ऐक्यबद्धतालाई हामी सधैँ स्मरण गरिरहन्छौँ।’ चीन र अन्य विकास साझेदारको सहयोगका कारण हामी महामारीका कठिनाइ पार गर्न सक्षम भएको प्रधानमन्त्रीको भनाइ छ ।
नजिकको छिमेकी, असल मित्र र भरपर्दो साझेदारका रूपमा नेपालले चीनसँग थप सम्बन्ध विस्तार गर्न चाहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक आर्थिक विकासमा गरेको ठूलो फड्कोबाट हामीले पनि फाइदा लिनुपर्ने बताए ।
नेपाली जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, थप सुविधा विस्तार गर्न, पूर्वाधारको निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले निजामती अस्पताललाई थप पूर्वाधार र सुविधासहितको विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने सोचका साथ सरकार लागिपरेको उल्लेख गरे ।



