काठमाडौं । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइएको विरोधमा दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा राष्ट्रिय सभा सदस्य गौतमविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ हुदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि सुनुवाइ हुँदैछ |

रिट निवेदनमाथि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा राय बाझियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निर्वाचनमा पराजित व्यक्तिलाई सोही अवधिमा मनोनयबाट जनप्रतिनिधीमूलक संस्थामा ल्याउनुलाई ‘संवैधानिक नैतिकताको उल्लंघन’ भनी टिप्पणी गरे । अरु न्यायाधीशहरुले भने गौतमविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए ।
उनले रायमा भनेका थिए्, ‘निर्वाचनमा पराजित हुने तर अर्को बाटो (मनोनयन प्रक्रियाबाट) जनप्रतिनिधिमूलकम संस्थाको सदस्य हुने कुरा आपसमा अन्तर विरोधपूर्ण देखिन्छ ।’
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासहित चार जना न्यायाधीशको बहुमत रायमा राष्ट्रिय सभाको सदस्यमा हुनुपर्ने योग्यतामा वामदेव गौतमको ‘अयोग्यता’ नदेखिएको उल्लेख थियो ।
आदेशमा राष्ट्रिय सभा सदस्यमा नियुक्त भइ सांसद पनि बनिसकेको अवस्थामा उनलाई काम गर्नबाट रोक्न अन्तरिम आदेश आवश्यक नभएको औंल्याइएको थियो ।



