काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौला र जनता समाजवादी पार्टी (जसपा)की सांसद रन्जु कुमारी झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रको समेत भ्रष्टाचार हेर्ने प्रस्तावको समर्थन गरेका छन् ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदद्धयले प्रस्तावित विधेयकमा समर्थन जनाएका हुन् ।

उनले भनेकी छन्, ‘अहिलेको विषयकको एउटा राम्रो कुरा लाग्यो मलिाइ कि अब कम्तिमा अख्तियारबाट निजी क्षेत्रलाई पनि मुद्दा चलाउन सकिन्छ ।’ पुल भासिएपछि माटो कमजोर भनेर देखाइएको सिक्टा सिंचाइ आयोजनाको उदाहरण दिँदै उनले यस्तो समस्या समाधानका लागि समेत प्रस्तावित विधेयक फलदायी हुने विश्वास व्यक्त गरिन् ।
विधेयकलाई पारित गर्दै गर्दा क्षेत्र विस्तारको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले के के मा काम गर्ने हो ? भनी प्रष्ट पारिनुपर्नेमा पनि उनको जोड छ ।
राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकले बैंक, मेडिकल कलेज र अस्पताल लगायत निजी क्षेत्रमाथि अदुअआले अनुसन्धान गर्न पाउने व्यवस्था छ ।
प्रचलित ऐन अनुसार नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको सार्वजनिक संस्था र उक्त संस्थाको जिम्मेवारीमा रहेका व्यक्तिउपर मात्रै अनुसन्धान गर्न पाउने अदुअआको क्षेत्राधिकार हो ।
क्षेत्राधिकार विस्तार गर्दै राष्ट्रिय सभाले ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको स्तर, वा प्रकारका बैंक, वित्तीय संस्था, बीमा व्यवसाय गर्ने संस्था, मेडिकल कलेज र सोसम्बद्ध अस्पताल, अन्य महाविद्यालय वा कलेज, सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी सार्वजनिक संस्थामा हुने भ्रष्टाचार पनि अख्तियारले हेर्न पाउने गरी व्यवस्था पारित गरेर पठाएको छ ।
नेपाली कांग्रेसका सांसद बद्री प्रसाद पाण्डेले भने अख्तियारको क्षेत्राधिकार विस्तारको विषयमा थप छलफल आवश्यक रहेको बताएका छन् ।
अख्तियारको कामकारबाहीलाई प्रभावकारी बनाउने तिर भन्दा ज्यादा क्षेत्राधिकार विस्तार गर्नेतिर मात्रै ख्याल गर्दा समस्याको सही समाधान हुन नसक्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘भुईंको टिप्न खोज्दा पोल्टाको खस्ने अवस्था आउन दिन हुन्न ।’ तर, उनले निजी क्षेत्रको भ्रष्टाचार निजी क्षेत्रले हेर्ने प्रस्तावित व्यवस्थाको विरोध नै भने गरेनन् ।



