म्याग्दी । म्याग्दीका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न सुरु गरेका हुन् ।
महासङ्घमा आबद्ध २८ व्यवसायीले सामूहिकरूपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको र सामुदायिक विद्यालयलाई सहजरूपमा पाठ्यपुस्तक उपलब्ध गराउन बिक्री केन्द्र स्थापना एकद्धारमार्फत बिक्री वितरण गर्न थालिएको महासङ्घका जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिए । उनका अनुसार गत वर्ष पुस्तक बिक्री भएको तथ्याङ्कका आधारमा आगामी शैक्षिकसत्रका लागि म्याग्दीमा कक्षा १ देखि १० सम्मका लागि १४ हजार छ सय ७० विद्यार्थीलाई लक्षित गरेर पुस्तक ल्याइएको छ ।

जिल्लामा कक्षा ७ को सामाजिकबाहेक अन्य अधिकांश कक्षाका पूरा सेट पाठ्यपुस्तक बेनीमा ल्याइसकिएको छ । अपुग पाठ्यपुस्तकसमेत केही दिनमै बेनी आइपुग्ने महासङ्घले जनाएको छ । जिल्लामा नौ वर्षदेखि व्यवसायीले सामूहिकरूपमा बिक्री केन्द्र स्थापना गरेर सरकारी पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् ।
अहिलेसम्म जिल्लामा ८० प्रतिशत पाठ्यपुस्तक आइपुगेको र आगामी वैशाखभित्रमा सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता जनाएका छन् । स्थानीय तहको केन्द्रसम्मको ढुवानीसमेत आफैँ गर्ने र विद्यालयसँग आवश्यक समन्वय गरेर सहजरूपमा पुस्तक उपलब्ध गराउने व्यवसायीले बताएका छन् । जिल्लामा दुई सय ३३ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।



