गोरखा — लघुवित्त वित्तीय संस्थाको ज्यादतीविरुद्ध ऋणीहरू तीन दिनदेखि धर्नामा छन् । जिल्ला प्रशासन कार्यालय सामुन्ने धर्नामा बसेका ऋणीले माग पूरा नभएसम्म सडक नछाड्ने अडान लिएका छन् । लघुवित्तका कर्मचारीको ज्यादतीले घरमा बस्न सक्ने अवस्था नभएको भन्दै सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलनलाई निरन्तरता दिने धर्नामा सहभागी सगिरा मिया अन्सारीले बताइन् ।

आज (बिहीबार) ३ दिन भयो, जहिलेसम्म सरकारले माग सुन्दैन तबसम्म हामी सडक छाड्दैनौँ,’ उनले भनिन, ‘धर्ना गरेर माग सम्बोधन नगरे भोक हड्तालसम्मका कार्यक्रमसहित अघि बढ्छौँ ।’

भैंसी, बाख्रा र कानको सुन बेच्दा पनि लघुवित्तको किस्ता तिर्न नसकेको पालुङटार नगरपालिका–६ मझुवाकी कल्पना कुमालले बताइन् । उनले ३ वटा लघुवित्तको ऋणको किस्ता तिर्न गत असोजमा दुहुनो भैंसी बेचेकी थिइन् । ‘एक लाखमा भैंसी बेचेर किस्ता तिरेँ, अहिले कुनै उपाय छैन,’ उनले भनिन्, ‘दुई बाख्रा र एक हल गोरु छन्, त्यही उठाउँछौं भन्दै लघुवित्तका कर्मचारी घरमा आएर हैरान पारे ।’ उनले एनआईसीबाट पाँच लाख, सबैको लघुवित्तबाट एक लाख र नेस्डोबाट दुई लाख ऋण झिकेकी छन् ।

‘असोजसम्म जेनतेन तिरेकी थिएँ,’ उनले भनिन्, ‘ऋण थुप्रिएपछि एक महिना भयो श्रीमान्लाई इन्डिया पठाएको छु, अहिले छोरी बिरामी छिन्, श्रीमान्को कमाइ राम्रो नहुँदा किस्ता तिर्न सकिएन ।’ एउटा लघुवित्तको किस्ता तिर्न अर्कोबाट ऋण लिँदा भार थपिएको उनको गुनासो छ । थपिन्, ‘ऋण तिर्न सजिलो बनाइदिनुपर्‍यो, हाम्रा पनि केही माग भएकाले छानबिन नभएसम्म अव आन्दोलन छाड्दैनौँ ।’

धर्नामा सहभागी अधिकांश लघुवित्त पीडितले ऋण तिर्न गोठका पशुचौपाया बेच्न दबाब दिएपछि बिलखबन्दमा परेको गुनासो गरे । पालुङटार–१ भुलभुलेखारकी सावित्री पुडासैनीले साधना लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्न ३६ हजारमा भैंसी बेच्नुपरेको दुखेसो पोखिन् । एनएमी लघुवित्तबाट दुई लाख ऋण झिकेकी पुडासैनीले १५ किस्ता तिरिसकिन् । ‘५/६ वर्ष मासिक दुई सयको दरले बचत पनि छ, साढे १० हजारको दरले किस्ता तिर्थें,’ उनले भनिन्, ‘ऋण लिएको असारमा दुई वर्ष पुग्छ, अहिले अझै ६८ हजार तिर्न छ भनेर रिन्यु गरिदिए, मेरो हिसाबले त्यति पैसा तिर्न पर्ने नहुनुपर्ने हो ।’ मासिक बचत, ऋण लिँदा दुई लाखको २० हजार काटेर खातामा राखेको पैसा र सेवा शुल्कको पैसाको हिसाबसमेत नदेखिएको उनले दुखेसो पोखिन् । सर्वसुलभ ब्याजदरमा ऋण दिने भन्दै ललाइफकाइ पैसा दिएको लघुवित्तका कर्मचारीले पछिल्लो समय एक महिना किस्ता तिर्न नसक्दा पनि ज्यादती गर्ने उनले बताइन् ।

किस्ता तिर्न नसकेको भन्दै सहिद लखन गाउँपालिका–४ की भगवती रानाको नागरिकता लघुवित्तका कर्मचारीले लगेको ३ महिना बितिसक्यो । ‘सुरुमा हेर्छु भनेर नागरिकता लगे, माघ १८ देखि मागेको छु, भोलि दिन्छु, पर्सि दिन्छु भन्छन् दिँदैनन्,’ उनले भनिन्, ‘पैसा दिन सकिन ठिक छ, नागरिकता राखेर के फाइदा छ ।’

साधना लघुवित्तबाट एक लाख ऋण झिकेकी सहिद लखन–३ कि नरामाया गुरुङले सातौं किस्ता रकम तिर्न सकिनन् । ऋणको बोझले व्यवहार बिग्रिएपछि किस्ता तिर्न धौधौ परेकी गुरुङलाई किस्ता तिर्न घरमै दबाब दिन पुग्ने कर्मचारीको रुखो बोलीसँगै मोबाइल बेचेर भए पनि किस्ता तिर्न दबाब दिने गरेको बताइन् । ‘एक किस्ता तिर्न नसक्दा कानको सुन झिक भन्छन् मोबाइल खोसेर लान्छु भन्छन्,’ उनले भनिन्, ‘लकडाउनले व्यवहार बिगार्‍यो, ऋण थुप्रिएपछि व्यवसाय पनि फस्टाउन सकेको छैन, एकै किस्ता रोकिँदा पनि यस्तो व्यवहार गर्दा कसको मन दुख्दैन ।’ लघुवित्तले सेवासुविधा नदिने उल्टै धेरै ब्याज असुल्न मात्र केन्द्रित बनेको पीडितको गुनासो छ । उनीहरूले लघुवित्त वित्तीय संस्था खारेजी, ऋण मिनाहा, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान, समाजवादी अर्थतन्त्रको विकास गर्नेलगायत माग राख्दै धर्ना दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय