काठमाडौँ — वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले संविधानविरोधी शक्तिलाई संविधानको दायराभित्र ल्याउन राज्य कडारूपमा प्रस्तुत हुने बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार धादिङमा आयोजना गरेको धादिङ, नुवाकोट र रसुवा जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगको समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले विरोधी शक्तिलाई संविधानको दायराभित्र ल्याउन राज्य लाग्ने बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध राजावादी र पश्चगामी सोच राख्ने कतिपय शक्तिहरू सदन र सडकमा सक्रिय भइरहेको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले गणतन्त्रमा पनि कतिपय पञ्चायतकालीन ऐन, कानुनअनुसार काम गर्नुपर्दा सरकार, प्रशासन र जनताबीच अन्तरविरोध रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार ऐन, कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाए । ‘मदिरा ऐन-२०३१ ले घरेलु मदिरालाई गैरकानुनी ठहर गर्दै उत्पादन र बिक्रीवितरणमा रोक लगाएको, गाँजालाई लागूऔषध नियन्त्रण ऐन- २०३३ ले लागू औषधको रूपमा ब्याख्या गरेको प्रसंग निकाल्दै मन्त्री श्रेष्ठले ती ऐनहरू समयानुकूल संशोधन गरेर कोदोको रक्सी र गाँजालाई वैध बनाउन आफूले पहल गर्ने पनि बताए ।

सवारी दुर्घटना, प्राकृतिक विपद्को व्यवस्थापन, वित्तीय अपराध, साइबर अपराध, नदीजन्य पदार्थको चोरी तस्करी, लागूऔषध नियन्त्रण, आत्महत्या, घरेलु हिंसाजस्ता समस्याहरू जिल्ला-जिल्लाको सुरक्षा चुनौतीको रुपमा रहेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले अत्याधुनिक उपकरणको अभाव, दक्ष र पर्याप्त जनशक्ति नहुँदा अपराध नियन्त्रणमा समस्या भइरहेको उल्लेख गरे ।

बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी योजनाबारे धादिङ, नुवाकोट र रसुवाका प्रमुख जिल्ला अधिकारीहरू रमेश ढकाल, किरण थापा र प्रकाशचन्द्र अधिकारीले जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय