काठमाडौँ । आफ्नो पीडा सुनाउन काठमाडौँका लागि पैदल हिँडेका मिटरब्याजी पीडितहरू आज काठमाडौँ आइपुग्ने भएका छन् । चैत २ गते महोत्तरीको बर्दिवासबाट हिँडेका मिटरब्याजी पीडितहरू काठमाडौँ नजिक आइपुगेका छन् । साँझसम्म काठमाडौँ आइपुगिने आन्दोलनमा सहभागी मनोज पासवानले बताए ।
तराईबाट ७१ जना पीडितहरू आन्दोलन गर्न काठमाडौँ आइरहेका छन् । उनीहरूमध्ये अधिकांश महिला छन् । आन्दोलनकारीहरूलाई बीच बाटोबाटै फिर्ता पठाउने प्रयाससमेत भएको थियो । मकवानापुरका प्रमुख जिल्ला अधिकारीले आन्दोलनकारीलाई भेटेर सरकार माग पुरा गर्न सकारात्मक रहेको बताउँदै त्यहीँबाट फर्किन आग्रह गरेका थिए । प्रजिअ राजेन्द्र देव पाण्डेले सहयोगको प्रस्ताव समेत गरे पनि आफूहरूले उनको प्रस्ताव अस्वीकार गरेको पासवानले बताए । ‘अब जे हुन्छ, काठमाडौँमै हुन्छ,’ न्याय नपाएसम्म नफर्किने तयारीका साथ आफूहरू काठमाडौँ आउन लागेको उनले बताए ।




