जिल्ला सदरमुकाम सिरहाको विकास र व्यवस्थापन जहिले पनि प्रश्नको विषयमा रह्ने गर्छ । जिल्ला सदरमुकामलाई सुन्दर, हराभरा बनाउने अभियान पनि थालिएको छ । सिरहा नगरपालिकाले यसको अगुवाई पनि गरेको छ । सिरहाको सदरमुकामको मुख्य बजारलाई फैलाउन सडक क्षेत्रका घरहरु भत्काईएको छ । अहिले फुटपाथ, पार्किङ जस्ता लगायतको निम्ति निर्माण कार्य पनि जारी छ । सडक डिभिजन कार्यालय मार्फत सिरहा नगरपालिकाभित्र फुटपाथ, पार्किङ बनाउने काम भईरहेको छ । निर्माण कम्पनीले काम जारी राखेपनि पछिल्लो समय काम रोकिएको छ । सदरमुकामलाई सुन्दर र व्यवस्थित बनाउने जिम्मेवारी सरोकारवाला कार्यालयको निकै महत्वपूर्ण क्षेत्र हो ।
जिल्ला सदरमुकाममा धेरैजसो सरकारी कार्यालयहरु रहेको छ । गाउँगाउँबाट सेवाग्राहीहरु जिल्ला सदरमुकाम सिरहा आईपुग्छन् । जिल्लाको पूरानो बजारमध्ये सदरमुकाम सिरहाको बजार पर्छ । करिब तीस वर्ष पूरानो नगरपालिका सिरहा रहेको छ । यसैले सिरहाको सदरमुकामलाई समय सापेक्ष व्यवस्थित र सुन्दर बनाउनु पर्छ । यसका निम्ति टेलिकम र विद्युतको तारहरुलाई भूमिगत गर्नुपर्ने निकै जरुरी छ । मुख्य सडक फैलाउन भवनहरु भत्काउने काम भएको तीन वर्षजति भएको छ । यस अवधिमा सिरहा बजारमा रहेको विद्युतीय पोलहरुलाई सार्न विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रले आलटाल गर्दै आईरहेको छ । जसले गर्दा सदरमुकाममा सवारी दुर्घटनाको जोखिम र सदरमुकामलाई अव्यवस्थित बजारजस्तो देखाएको छ । नेपाल टेलिकमले पनि आफ्नो तार र पोलहरुलाई सार्न आनाकानी गरिरहेको छ । यो समस्याको समाधानको आवश्यकता छ ।

नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रले सदरमुकामभित्र संचालनमा रहेको विद्युतको सप्लाई गर्ने पोल, ट्रान्सर्फमर सार्न ढिलाई गर्दै आएपनि केन्द्रको एउटा योजनाले सहज बनाउने अपेक्षा छ । प्राधिकरणको एउटा योजना अहिले कार्यान्वयनमा आईरहेको छ । जस अन्र्तगत सदरमुकामको मुख्य बजार क्षेत्रको करिब २ किलोमीटर क्षेत्रमा रहेको ११ हजार केभिएको विद्युत तारलाई भूमिगत गर्ने काम अघि वढाउन थालिएको छ । सदरमुकाम सिरहाको सहिद राजेश ठाकुर पार्कदेखि महावीर चौकसम्मको करिब दुई किलोमीटरमा ११ हजार केभिएको तारलाई भूमिगत गर्ने योजना अघि वढेको छ । यस योजना अन्र्तगत अहिले पाईप ओछ्याउने काम भईरहेको छ । प्राधिकरणको केन्द्रिय कार्यालयले सदरमुकाममा भूमिगत रुपमा पाईप ओछ्याउने कामको दिगोपनामा विशेष ध्यान दिनुपर्छ । पाईम र भूमिगत गर्न प्रयोग हुने केबुल (तार)को गुणस्तर, अन्र्तराष्ट्रिय प्रमाणिकरणप्रंति सचेत र सजग रह्नुपर्छ । वाढी र भूईकम्पका बेला तारमा क्षति नपुगोस्, नागरिकलाई असुरक्षा नहोस भन्ने हेक्का प्राधिकरणले राख्नैपर्छ । त्यसै अनुसार दिगो र गुणस्तरीय काम हुनु अनिवार्य शर्त हो ।



